मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ।
घरपझोङ गाउँपालिकाको आयोजनामा आगामी भदौ ३० र ३१ गते जिल्ला सदरमुकाम जोमसोममा सम्मेलन हुने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, संरक्षणकर्मी, जलवायु विज्ञ, नागरिक समाज तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहनेछ।
बढ्दो तापक्रम, हिमपातको स्वरूपमा आएको परिवर्तन, पानीका मुहान सुक्दै जानु, हिमताल तथा हिमपहिरोको जोखिम, बाढीपहिरो र कृषि प्रणालीमा परेको प्रभाव सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्। जलवायु परिवर्तनका कारण मुस्ताङको परम्परागत कृषि, पशुपालन, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पर्न थालेको भन्दै सम्मेलनमा स्थानीय ज्ञान, वैज्ञानिक अध्ययन र सरकारी नीतिबीच समन्वयका विषयमा समेत छलफल गरिने जनाइएको छ।
सम्मेलनले जलवायुजन्य जोखिम न्यूनीकरण, स्थानीय अनुकूलन योजना निर्माण, वातावरणमैत्री विकास तथा हिमाली समुदायको संरक्षणका लागि साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा स्थानीय सरकारको रहेको छ।
















प्रतिक्रिया दिनुहोस्