काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन वैकल्पिक मार्गमार्फत ग्यास ढुवानी तथा वितरण भइरहेको जनाएको छ। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।
इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ।
कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ। भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ र बीपी राजमार्ग हुँदै ल्याइएका करिब ३ लाख ९९ हजार ५२९ सिलिण्डर उपभोक्तालाई वितरण गरिएको निगमको भनाइ छ। उक्त परिमाण दैनिक औसत करिब ४० हजार सिलिण्डर बराबर हो।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ।
कृष्णभीरको सडक खुलाउन गृह मन्त्रालयलगायत सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको निगमले जनाएको छ। सडक सञ्चालनमा आएपछि सोही मार्गबाट एलपी ग्यास बोकेका बुलेट नियमित रूपमा आउने र काठमाडौँका उद्योगले आफ्नै परिसरबाट ग्यास रिफिल गरी बजारमा पठाउने भएकाले आपूर्ति अवस्था क्रमशः सहज हुने अपेक्षा निगमको छ।
आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको छ। त्यस्तै, सिलिण्डर लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि निगरानी बढाउन गृह मन्त्रालयसँग समन्वय भइरहेको निगमले जनाएको छ। हालैको सरकारी अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २०० सिलिण्डर फेला पारी उपभोक्तालाई वितरण गरिएको तथा अनियमितता गर्ने विक्रेतालाई नियमानुसार दण्ड–जरिवाना गरिएको निगमको भनाइ छ।
ग्यास सिलिण्डरको बिक्री–वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने पहलसमेत भइरहेको निगमले जनाएको छ।
निगमले उपभोक्तालाई आत्तिएर अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न आग्रह गर्दै निगमले अतिरिक्त सिलिण्डर सञ्चय गर्दा अन्य उपभोक्ता समस्यामा पर्न सक्ने जनाएको छ।
निगमका अनुसार गत वर्षको तुलनामा चालु वर्षको पछिल्लो तीन महिनामा एलपी ग्यास बिक्रीमा उतारचढाव देखिएको छ। २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५, श्रावणमा ३१ लाख २१ हजार ४८ र भाद्रमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर बिक्री भएको थियो। चालु आर्थिक वर्ष २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७, श्रावणमा ४० लाख ३६ हजार ३६४ तथा भाद्र २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ।
निगमले आपूर्ति तथा बजार अवस्थाबारे दैनिक रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जाने प्रतिबद्धता जनाएको छ। साथै, आपूर्ति व्यवस्थालाई सहज बनाउन उपभोक्ताको धैर्य, सहयोग र समझदारीका लागि आग्रह गरेको छ।
















प्रतिक्रिया दिनुहोस्