काठमाडौं । सरकारले खेलकुद क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। यसका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार पहिलो चरणमा सातै प्रदेशका विभिन्न स्थानमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल निर्माण तथा विद्यमान पूर्वाधारको स्तरोन्नति गरिनेछ। ती पूर्वाधारलाई बहुउद्देश्यीय रूपमा प्रयोग गर्न सकिने गरी विकास गर्ने सरकारको योजना छ।शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले सरकारले लामो समयदेखि अघि सारेको ‘ग्रासरुट’बाट खेलाडी उत्पादन गर्ने योजनालाई पूर्वाधार निर्माणमार्फत थप अघि बढाउन लागिएको बताए । उनले भने, ‘हामीले पहिलेदेखि नै देखेको सपना ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने भनेको त्यसमा चाहिँ एक कदम अगाडि बढेका छौँ।’
मन्त्री पोखरेलका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले पाठ्यक्रममा समेत खेलकुदलाई जोड्ने तयारी भइरहेको छ। पाठ्यक्रम पुनर्निर्माणका क्रममा खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने गरी खेलाडीलाई समेत कार्यदलमा सहभागी गराइएको उनले जानकारी दिए ।‘पाठ्यक्रममा खेलकुदलाई पनि समावेश गरेर लैजाने सुरुदेखिकै योजना अनुरुप अहिले पाठ्यक्रम पुनर्निर्माण गर्ने क्रममा पाठ्यक्रम र खेलकुदलाई कसरी जोडेर लैजान सकिन्छ भनेर खेलकुद क्षेत्रलाई नै प्रतिनिधित्व हुनेगरी पाठ्यक्रम बनाउने कार्यदलमा खेलाडीहरुलाई पनि समावेश गरेका छौँ,’ उनले भने।
नयाँ खेलकुद पूर्वाधार निर्माणले विद्यालय तहबाटै खेलकुदप्रति आकर्षण बढाउन सहयोग पुग्ने विश्वास मन्त्री पोखरेलको छ। यसैगरी, उनले नेपालको विभिन्न प्रदेश तथा जिल्लामा पर्याप्त खेलकुद पूर्वाधारको अभावका कारण ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्न कठिनाइ भइरहेको पनि बताए। ‘नेपालको विभिन्न प्रदेश र जिल्लामा खेलकुद पूर्वाधार राम्रो नभएकाले खेलाडीहरु पनि ग्रासरुटबाट उत्पादन गर्न सकेका छैनौँ । यही क्रममा पहिलो चरणमा सात वटै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल तीन क्षेत्रलाई आधार बनाएर लगभग सबै खेलहरु सञ्चालन हुनेगरी पूर्वाधार बनाउन लागेका हौँ,’ मन्त्री पोखरेलले भने।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले अत्याधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित भएको साझेदारीले नेपालको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माणसँगै विद्यमान पूर्वाधारको अधिकतम उपयोग हुने गरी मर्मत, सम्भार, पुनर्निर्माण, स्तरोन्नति तथा सुदृढीकरणलाई प्राथमिकता दिएको छ। बजेटअनुसार खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालासहितका पूर्वाधार स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने तथा विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य बजेटमा समावेश गरिएको छ।यसैगरी, मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानीको मोडालिटी तय गर्ने योजना पनि सरकारले अघि सारेको मन्त्रालयले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्