काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए। रोहित पौडेल ३३ रनमा अविजित रहे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे । नेपालले लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाए पनि रोहित पौडेलले इनिङ्स सम्हाल्दै टोलीलाई जितसम्म पुर्याए।

फोटो : क्यान
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। अफगानिस्तानका फेसल शिनोजादाले ३० रन तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए। नङ्गेलिया खरोटेले १७ रन जोडे। अफगानिस्तानलाई कम योगफलमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिए। ललितले सुरुवाती चरणमै महत्वपूर्ण विकेट लिएर अफगानिस्तानको रन गति नियन्त्रणमा राखेका थिए।
यो जितसँगै नेपालले समूह ‘ए’ मा महत्वपूर्ण दुई अंक जोडेको छ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र आयोजक जापान रहेका छन्। यसअघि अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो। नेपालले अब शनिबार आयोजक जापानसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताको तालिकाअनुसार क्वार्टरफाइनल खेल सेप्टेम्बर २८ देखि सुरु हुनेछ। यसअघि भएको एसियाली खेलकुदको पुरुष क्रिकेटमा पनि नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो।
















प्रतिक्रिया दिनुहोस्