काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा रसुवागढी–केरुङ व्यापारिक नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग माग छन् ।
शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्तामा मन्त्री लम्सालले बाढीपछि बन्द रहेको रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको अस्थायी पुनर्निर्माण तथा यातायात व्यवस्था मिलाउन चीनको सहयोग आवश्यक रहेको बताएका हुन् ।
राजदूतसँग उनले करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत सुनिश्चित गर्न तथा सीमावर्ती क्षेत्रमा आवागमन सहज बनाउन तत्काल पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गरे। भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि सरकारले पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालनको व्यवस्था मिलाउन दिनरात काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए। स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
काठमाडौं–रसुवागढी सडकको नयाँ डीपीआर बनाउँदै सरकार
भेटमा मन्त्री लम्सालले काठमाडौं–रसुवागढी–केरुङ नाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढेको राजदूतलाई जानकारी दिए। आवश्यक स्थानमा नयाँ सडकको ट्र्याक खोल्ने कार्यमा समेत सरकार अघि बढिरहेको भन्दै उनले दीर्घकालीन पूर्वाधार विकासमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गरेको जनाइएको छ।
भेटवार्तामा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपाललाई असल मित्र तथा छिमेकीका रूपमा हरसम्भव सहयोग गर्न तयार रहेको बताए। उनले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे। राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी नेपाल सरकारले विशेष प्रस्ताव पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।















प्रतिक्रिया दिनुहोस्