Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोसी बाढीपीडितका लागि विदेशबाट आयो ३.८० अर्ब आर्थिक सहयोग, कसले कति दिए ?

भोटेकोसी बाढीपीडितका लागि विदेशबाट आयो ३.८० अर्ब आर्थिक सहयोग, कसले कति दिए ?
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३ अर्ब ८० करोड ४७ लाख रुपैयाँ बराबर आर्थिक सहायता प्रदान गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयका अनुसार असोज ८ गतेसम्म विदेशी स्रोतबाट कोषमा २ करोड ४८ लाख ८५ हजार ४९८ अमेरिकी डलर जम्मा भएको छ। उक्त रकम करिब ३ अर्ब ८० करोड ४७ लाख रुपैयाँ बराबर हुन्छ। यो रकममा विदेशी मुलुक तथा संस्थाबाट प्राप्त नगद सहयोग समावेश छ भने राहत सामग्रीको मूल्य समावेश गरिएको छैन।

गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरेको थियो। अर्थ मन्त्रालयका अनुसार त्यसपछि कोषमा नेपाल तथा विदेशबाट गरी कुल १५ अर्ब ५४ करोड २० लाख १ हजार ३३९ रुपैयाँ सहयोग प्राप्त भएको छ। विदेशी सहयोगमध्ये बेलायतबाट साझेदारमार्फत ६३ लाख ५० हजार अमेरिकी डलर, क्यानडाबाट ३६ लाख ५० हजार डलर, अमेरिकाबाट ३६ लाख डलर र जर्मनीबाट साझेदारमार्फत २० लाख डलर प्राप्त भएको छ।

त्यस्तै, चीनले २१ लाख डलर, न्युजिल्यान्डले साझेदारमार्फत १२ लाख २० हजार डलर, नर्वेले ११ लाख ९३ हजार ८०० डलर, भुटानले ११ लाख ३० हजार डलर, स्विट्जरल्यान्डले साझेदारमार्फत १० लाख डलर र श्रीलंकाले १० लाख डलर सहयोग गरेका छन्। यसैगरी, दक्षिण कोरियाले साझेदारमार्फत १० लाख डलर, अस्ट्रेलियाले १० लाख डलर, आयरल्यान्डले ५ लाख ४० हजार डलर, डेनमार्कले ५ लाख १४ हजार ५०० डलर, भियतनामले ३ लाख डलर, थाइल्यान्डले २ लाख १० हजार डलर, लाटभियाले साझेदारमार्फत १ लाख ८ हजार डलर र चेक गणतन्त्रले १ लाख ७ हजार ५०० डलर सहयोग दिएका छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले १ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम प्राप्त हुने प्रक्रियामा रहेको छ। एसियाली विकास बैंक (एडीबी) ले पनि ५० लाख अमेरिकी डलर र केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (सीईआरएफ) ले २५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। विदेशी सरकारबाहेक विभिन्न अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थाबाट पनि कोषमा सहयोग प्राप्त भएको छ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले १ करोड अमेरिकी डलर, दुसान समूहले ५० लाख अमेरिकी डलर र अर्बन केयर्सले ७० हजार अमेरिकी डलर सहयोग गरेका छन्। भिलले १ करोड रुपैयाँ तथा भुटानको ड्रुकएयरले ३२ लाख रुपैयाँ सहयोग गरेको छ।

अर्थ मन्त्रालयको असोज ८ गतेको अद्यावधिकअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपछि जम्मा भएको रकममध्ये नेपाली रुपैयाँ खातातर्फ १० अर्ब ६२ करोड ६९ लाख ६२ हजार ४९० रुपैयाँ र अमेरिकी डलर खातामा २ करोड ४८ लाख ८५ हजार ४९८ डलर रहेको छ। दुवैलाई समेट्दा कोषको कुल उपलब्ध मौज्दात १५ अर्ब ६० करोड ३७ लाख २९ हजार ५३० रुपैयाँ पुगेको छ। नगद सहयोगसँगै विभिन्न देशबाट बाढीपीडितका लागि राहत तथा अत्यावश्यक सामग्री सँगै उद्दारटोलीहरु पनि नेपाल आएका थिए । भारत, लक्जेम्बर्ग, बंगलादेश, जापान, सिंगापुर, फ्रान्स, पाकिस्तान, म्यानमार, कतार, चीन र यूएईलगायतका देशले राहत सामग्री उपलब्ध गराएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit