काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ।
बिहीबार थप आठ जनाको शव फेला परेसँगै मृतकको संख्या १५ पुगेको हो । हिमपहिरोमा हराएका आरोहीको खोज तथा उद्धारमा खटिएको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ जनाको शव फेला पारेको हो। घटनामा अझै एक जना आरोही बेपत्ता छन्। उनको खोजी तथा उद्धार कार्य जारी छ ।यसअघि बुधबार तीन जनाको शव फेला परेको थियो।
उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको थियो। त्यस्तै, आइतबार र सोमबार गरी थप चार जनाको शव भेटिएको थियो। तीमध्ये वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटे रहेका छन्। असोज ११ गते गएको हिमपहिरोमा १६ जना आरोही हराएका थिए। घटनाको दोस्रो दिन ११ जना सम्पर्कमा आएका थिए। आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ सदस्यीय टोलीले बेपत्ता आरोहीको खोजी तथा उद्धार गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्