काठमाडौं । यातायात तथा ढुवानी क्षेत्रलाई वातावरणमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यसहित शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नयाँ विद्युतीय ट्रक शाकम्यान एक्स ५०००ई नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले बिहीबार आयोजना गरेको कार्यक्रममा ट्रक सार्वजनिक गर्दै नेपालमा बढ्दो इन्धन आयातको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो।
कार्यक्रममा शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले नेपाल र शाकम्यानबीचको सहकार्य व्यापारिक सम्बन्धमा मात्र सीमित नभई दीर्घकालीन साझेदारीका रूपमा अघि बढिरहेको बताइन्। नेपालले हरेक वर्ष ठूलो रकम इन्धन आयातमा खर्च गरिरहेको उल्लेख गर्दै उनले स्वदेशमै उत्पादन हुने जलविद्युत्को प्रयोगमार्फत ढुवानी तथा औद्योगिक क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताइन्।
उनले विद्युतीय ट्रकको प्रयोगले इन्धन आयातमा बाहिरिने रकम घटाउनुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने र सन् २०४५ सम्म नेपाललाई शून्य कार्बन उत्सर्जनतर्फ लैजाने राष्ट्रिय लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
शाकम्यानका दक्षिण एसिया इन्चार्ज स्यान्डर्स लीले नेपालको भौगोलिक अवस्था, भिरालो सडक र भारी सामान ढुवानीको आवश्यकतालाई ध्यानमा राखेर एक्स ५०००ई विकास गरिएको जानकारी दिए। उनका अनुसार ट्रकमा शक्तिशाली ब्याट्री तथा छिटो चार्ज हुने प्रविधि जडान गरिएको छ। भिरालो तथा लामो ओरालो सडकमा ऊर्जा पुनःउत्पादन गर्ने ब्रेकिङ प्रविधिमार्फत ऊर्जा बचत गर्न सकिने उनले बताए।
उपभोक्ताको विश्वास बढाउन कम्पनीले ब्याट्रीमा आठ वर्ष तथा मोटर र नियन्त्रकमा पाँच वर्षको वारेन्टी उपलब्ध गराएको जनाएको छ। नेपालमै स्पेयर पार्ट्स उपलब्ध गराउने, प्राविधिक जनशक्तिलाई तालिम दिने तथा प्रभावकारी सर्भिस नेटवर्क विस्तार गर्न जगदम्बा मोटर्सलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि लीले व्यक्त गरे।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले व्यावसायिक सवारीसाधनको मुख्य आधार आर्थिक बचत र नगद प्रवाह रहेको बताए। नेपालमा जलविद्युत्मार्फत ठूलो मात्रामा हरित ऊर्जा उत्पादन हुने र विद्युत्को लागत तुलनात्मक रूपमा कम रहेकाले डिजेलको विकल्पका रूपमा विद्युतीय ट्रक प्रयोग गर्दा दैनिक सञ्चालन खर्च घटाउन सकिने उनको भनाइ थियो।
कम्पनीले शाकम्यान एक्स ५०००ई को मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ।
कम्पनीका अनुसार ट्रकमा अधिकतम ३४० किलोवाट पिक पावर र २ हजार ८०० एनएम पिक टर्क रहेको छ। यसमा ३१० किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ।
ट्रकमा ब्याट्री परिवर्तन गर्न सकिने सुविधा पनि रहेको कम्पनीले जनाएको छ। उक्त प्रविधिबाट करिब पाँच मिनेटमै ब्याट्री परिवर्तन गर्न सकिने दाबी गरिएको छ। त्यस्तै, दुईवटा गन प्रयोग हुने द्रुत चार्जरबाट करिब एक घण्टामा ब्याट्री पूर्ण रूपमा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
ट्रकको ग्राउन्ड क्लियरेन्स २९५ मिलिमिटर रहेको छ। निर्माण क्षेत्र तथा कठिन भौगोलिक भूभागमा समेत सञ्चालन गर्न सकिने गरी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ।
आधुनिक टेलिम्याटिक्स प्रणाली र मोबाइल एपमार्फत २४ घण्टा ब्याट्रीको अवस्था तथा सवारीसाधनको प्रत्यक्ष निगरानी गर्न सकिने सुविधा ट्रकमा रहेको छ। कम्पनीले यसलाई नेपालको व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय रूपान्तरणलाई गति दिने प्रविधिका रूपमा प्रस्तुत गरेको छ।
शाकम्यानका ट्रकहरू विश्वका करिब १५० देशमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ। सुरुवाती खरिद मूल्यका आधारमा विद्युतीय ट्रक महँगो देखिए पनि नियमित सञ्चालनका क्रममा हुने इन्धन तथा मर्मतसम्भार खर्च घट्ने भएकाले दीर्घकालीन रूपमा आर्थिक लाभ लिन सकिने कम्पनीको दाबी छ।
कार्यक्रममा शाकम्यानका दक्षिण एसिया महाप्रबन्धक स्यान्डर्स ली, शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा यातायात तथा जलविद्युत् क्षेत्रका व्यवसायी तथा दुवै कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति थियो।















प्रतिक्रिया दिनुहोस्