काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले प्राप्त गरेका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन्। उपहार कार्यक्रममा साह कानुले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।
बम्पर पुरस्कार विजेता साह कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले तत्कालै फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमार्फत बिल लिएका कुल ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए। तीमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ वटा र अनलाइन तथा कार्डमार्फत भुक्तानी भएका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार रहेका छन्।
यस अवधिका दैनिक पुरस्कारका विजेतासमेत सार्वजनिक गरिएको छ। दैनिक पुरस्कारतर्फ १५ जना विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँसम्मका पुरस्कार प्राप्त गर्ने विवरण सार्वजनिक गरिएको छ।
जसअनुसार आधुनिक क्याफे, टेस्रा कस्मेटिक्स, अंकित फार्मेसी, वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, सूर्यविनायक मेडिकल स्टोर, शिवशक्ति आलु प्याज भण्डार, अर्घाखाँची आयल डिस्ट्रीब्युटर्सलगायतबाट कारोबार गरेकाहरु उपहारका लागि छनोट भएका छन्।

त्यस्तै, नयाँ बनियाँ भाँडा पसल, उदयदेव बहुउद्देश्यीय सहकारी संस्था, पौरखी बचत तथा ऋण सहकारी संस्था, जगदम्बा आइरन स्टोर, जनसेवा फार्मा, मगर उत्थान कृषक समूह, तुषार सफ्टवेयर डेभलपमेन्ट प्रालि तथा ईश्वर होटल तथा रेस्टुरेन्टका कारोबारसमेत दैनिक पुरस्कारका लागि छनोट भएका छन्।
करदाता प्रोत्साहन उपहार कार्यक्रमले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा सहभागिता बढाउने उद्देश्य विभागले राखेको छ।
















प्रतिक्रिया दिनुहोस्