काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले पदीय जिम्मेवारीको दुरुपयोग गरी गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् । उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,’ उनले लेखेका छन्, ‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।’
गुरुङले राज्यका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कुनै उन्मुक्ति नदिइने चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन। त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइनेछ।’
गृहमन्त्रीको यस्तो भनाइ संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेकै भोलिपल्ट सार्वजनिक भएको हो । सोमबार सरकारले एआईजी दाहाललाई पदीय आचरणविपरीत कार्य गरेको तथा संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बन गरेको थियो । गृह मन्त्रालयले दाहालमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्