काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति फेरि १ ट्रिलियन डलर नाघेको छ। शेयर बजारमा आएको सुधारसँगै स्पेसएक्स र टेस्लाको शेयर मूल्य बढेपछि मस्कको सम्पत्ति एकै दिन ६५ अर्ब डलरले बढेर १.०४ ट्रिलियन डलर पुगेको हो।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार मस्कको सम्पत्ति ६५ अर्ब डलरले बढेको हो। अक्टोबर सुरु भएयता स्पेसएक्सको शेयर मूल्य करिब १३ प्रतिशतले बढेको छ भने टेस्लाको शेयर ६.७ प्रतिशतले उकालो लागेको छ। मस्कको कुल सम्पत्तिको ९८ प्रतिशतभन्दा बढी हिस्सा यी दुई कम्पनीमा रहेको ब्लुमबर्गको सूचकांकले देखाएको छ। त्यसैले दुवै कम्पनीको शेयर मूल्यमा हुने उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा ठूलो प्रभाव पार्ने गरेको छ।
स्पेसएक्सको शेयरमा तीव्र सुधार
मस्कको सम्पत्ति बढ्नुमा स्पेसएक्सको शेयर मूल्यमा आएको तीव्र सुधार प्रमुख कारण बनेको छ। अगस्टमा न्यून विन्दुमा पुगेयता स्पेसएक्ससँग सम्बन्धित शेयर मूल्य करिब ५८ प्रतिशतले पुनः बढिसकेको छ। सोमबार मोर्गन स्ट्यान्लीका विश्लेषकहरूले स्पेसएक्सलाई अन्तरिक्ष तथा इन्टेलिजेन्स क्षेत्रमा लगानी गर्न आकर्षक विकल्पका रूपमा व्याख्या गरेका थिए। यसले कम्पनीप्रति लगानीकर्ताको विश्वास थप बढाउन सहयोग गरेको देखिन्छ।
सम्पत्ति बढाउन टेस्लाको बिक्रीले पनि दियो साथ
टेस्लाको शेयर मूल्यमा आएको सुधारले पनि मस्कको सम्पत्ति बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। टेस्लाले गत साता सार्वजनिक गरेको तेस्रो त्रैमासिक बिक्री विवरण बजारको अपेक्षाभन्दा राम्रो देखिएपछि कम्पनीको शेयरमा सकारात्मक प्रभाव परेको हो। टेस्लाले तेस्रो त्रैमासिकमा ४ लाख ८६ हजार ५३२ वटा विद्युतीय सवारीसाधन बिक्री गरेको थियो, जुन विश्लेषकहरूको ४ लाख ५६ हजार ८९६ युनिटको अनुमानभन्दा बढी हो।
जुन २०२६ मा मक्स बनेका थिए विश्वकै पहिलो ट्रिलियनियर
मस्क यसअघि जुन २०२६ मा विश्वकै पहिलो ट्रिलियनियर बनेका थिए। स्पेसएक्सको कीर्तिमानी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्यांकन तीव्र रूपमा बढ्दा उनको सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो। तर त्यसपछि स्पेसएक्सको उच्च मूल्यांकनप्रति लगानीकर्तामा चिन्ता बढ्दै गएपछि कम्पनीको शेयर मूल्यमा गिरावट आयो र मस्कले ट्रिलियनियरको हैसियत गुमाएका थिए। जुलाईको अन्त्यसम्म उनको सम्पत्तिमा ६ खर्ब डलरभन्दा बढीको गिरावट आएको ब्लुमबर्गले जनाएको छ।पछिल्लो समय स्पेसएक्स र टेस्लाप्रति लगानीकर्ताको बढ्दो आशावादसँगै मस्कको सम्पत्ति पुनः तीव्र गतिमा बढेको हो।
ब्लुमबर्गको सम्पत्ति सूचकांकअनुसार मस्कको सम्पत्तिको ९८ प्रतिशतभन्दा बढी हिस्सा स्पेसएक्स र टेस्लामा रहेको छ। त्यसैले यी दुई कम्पनीको बजार मूल्यमा हुने सामान्य परिवर्तनले समेत उनको कुल सम्पत्तिमा अर्बौं डलरको उतारचढाव ल्याउने गरेको छ। (अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरुको आधारमा तयार पारिएको सामग्री)















प्रतिक्रिया दिनुहोस्