काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी तथा कार्ड कारोबारमा विदेशी मुद्रा सटही र भुक्तानीको सीमा बढाएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा गई उपचार गराउन तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिद गर्न नेपाली नागरिकले वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। यसअघि यस्तो सीमा १५ हजार अमेरिकी डलर थियो। तोकिएको प्रक्रिया पूरा गरेपछि बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन्।
त्यस्तै, नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा सम्बन्धित नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसलगायत आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थाले स्वयं ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी पठाउन सक्ने भएका छन्। यसअघि यस्तो सीमा १ लाख डलर थियो। यस प्रयोजनका लागि विदेशी बैंकको बैंक ग्यारेन्टीसमेत आवश्यक नपर्ने व्यवस्था गरिएको छ। विदेशमा लगेर मर्मत गरी ल्याउने इन्जिन तथा पार्टपुर्जाको हकमा पनि अग्रिम भुक्तानीको सीमा ५ लाख डलर पुर्याइएको छ।
दूरसञ्चार सेवा प्रदायक नेपाली कम्पनीले विदेशी सेवा प्रदायकसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिएको वा प्रयोग गरेको अवस्थामा आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थाले वार्षिक ५ लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सक्ने भएका छन्। यसअघि यस्तो सीमा १ लाख डलर थियो। साथै, भारतस्थित संघ, संस्था वा कम्पनीबाट विविध सेवा सुविधा लिने नेपाली तथा विदेशी संघसंस्था र कम्पनीले सम्झौताअनुसार प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न वाणिज्य बैंकबाट सटही सुविधा पाउने भएका छन्। यसअघि यस्तो सीमा ४० लाख भारु थियो।
नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत भएको वा सटही सिफारिस प्राप्त भएको अवस्थामा आवश्यक कागजातसहित वाणिज्य बैंकबाट प्रतिपटक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा लिन सकिने भएको छ। यसअघि यस्तो सीमा १५ हजार डलर थियो। ३० हजार डलरभन्दा बढी भुक्तानीका लागि सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति आवश्यक पर्नेछ। नियामक निकाय नभएको वा सिफारिस प्राप्त हुन नसकेको अवस्थामा ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि पनि विभागको स्वीकृति लिनुपर्ने व्यवस्था कायम छ।
यसैगरी, विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने कार्ड प्रयोगकर्ताको रकम कार्डमै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रयोगकर्ताको अनुरोधमा उक्त रकम स्वदेशी वा विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिनेछ। कार्डको मौज्दात १० हजार अमेरिकी डलरभन्दा बढी भएमा बढी रकम अनिवार्य रूपमा सम्बन्धित खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यस्तो सीमा ५ हजार डलर थियो। सेवा निर्यातबाट आर्जित विदेशी मुद्रा प्रयोग गरी विदेशमा वस्तु तथा सेवा खरिद गर्दा वार्षिक सटही सीमा आर्जित रकममा थप ५०० डलर जोडेर निर्धारण हुने भए पनि अधिकतम सीमा १० हजार डलर कायम गरिएको छ।
त्यसैगरी, वस्तु आयातमा अग्रिम भुक्तानी गर्ने व्यवस्थालाई पनि परिमार्जन गरिएको छ। सटही सुविधा लिने आयातकर्ताले सामान पठाइनुअघि कम्तीमा १० प्रतिशत रकम भुक्तानी गरिसकेको हुनुपर्ने तथा भन्सार जाँचपास हुनुअघि पूर्ण भुक्तानी पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ।















प्रतिक्रिया दिनुहोस्