काठमाडौं । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन–२०२६ भविष्यका लागि फरक ढंगले पुनःनिर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिले आर्थिक गतिविधिमा तत्काल दबाब सिर्जना गर्ने उल्लेख गरेको छ। प्रतिवेदनअनुसार बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण र पुनःस्थापना अघि बढेपछि भने आगामी आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, बैंकले आर्थिक वर्ष २०८४र८५ मा मुद्रास्फीति केही कम हुने प्रक्षेपण पनि गरेको छ।‘आयात र ढुवानी लागतमा हुने वृद्धिका कारण आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ मा मुद्रास्फीति बढ्ने अनुमान गरिएको छ। उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति आर्थिक वर्ष २०८१/८२ को ४.१ प्रतिशतबाट बढेर २०८२/८३ मा ४.३ प्रतिशत पुग्ने र त्यसपछि २०८३/८४ मा ५.१ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा थप भनिएको छ,‘विश्व बजारमा वस्तुको मूल्यमा कमी आउने तथा भारतमा मुद्रास्फीति घट्ने (जसले नेपालको मुद्रा पेग प्रणालीमार्फत आयातित मुद्रास्फीति नियन्त्रणमा सघाउ पुर्याउँछ) कारणले गर्दा आर्थिक वर्ष २०८४/८५ मा मुद्रास्फीति केही कम हुने प्रक्षेपण गरिएको छ।
बाढीको सबैभन्दा ठूलो असर उद्योग क्षेत्रमा पर्ने विश्व बैंकको आकलन छ। जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु आवागमन प्रभावित हुने जनाइएको छ। सेवा क्षेत्रमा पनि व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा अवरोध आउने प्रतिवेदनमा उल्लेख छ।कृषि उत्पादनमा परेको असर समग्र आर्थिक वृद्धिमा तुलनात्मक रूपमा सीमित भए पनि प्रभावित क्षेत्रका नागरिकको रोजगारी र जीविकोपार्जनमा उल्लेखनीय प्रभाव पर्न सक्ने विश्व बैंकले जनाएको छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले विपद्पछिको पुनःनिर्माणलाई पूर्वाधार र आधारभूत सेवाको संरचना थप उत्थानशील बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।विश्व बैंकले क्षतिग्रस्त संरचना जस्ताको तस्तै पुनःनिर्माण गर्नुभन्दा जलवायु परिवर्तन र भविष्यका बहुविपद् जोखिमलाई ध्यानमा राखेर सडक, ऊर्जा, सञ्चार, खानेपानी, स्वास्थ्य तथा शिक्षाका पूर्वाधार निर्माण गर्न सुझाव दिएको छ।
त्यस्तै, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, महत्वपूर्ण पूर्वाधारमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्ने र विपद्का बेला प्रभावित परिवारलाई तत्काल सहयोग पुग्ने एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ।















प्रतिक्रिया दिनुहोस्