Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

गुलियो चिनीको तितो कथा, हरेक वर्ष किन दोहोरिन्छ?

गुलियो चिनीको तितो कथा, हरेक वर्ष किन दोहोरिन्छ?
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धिको समस्या नयाँ होइन। चाडपर्वको मुखमा चिनीको माग बढ्ने र त्यसैको बहानामा बजारमा अभाव देखिने प्रवृत्ति वर्षौंदेखि दोहोरिँदै आएको छ।
अघिल्लो वर्षसमेत चाडपर्वको समयमा चिनीको मूल्य बढेपछि तत्कालीन सरकारले बजार व्यवस्थापन गर्न सकस परेकै थियो ।

विज्ञापन
Advertisement
Advertisement

कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै ‘चिनीमा मलाई उद्योगीले ढाँटे, चिनीको अभाव हुन्छ भनेर मगाए, चिनी प्रशस्त रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए।

नेपालमा वास्तवमै चिनीको अभाव हुन्छ कि अभाव सिर्जना गरिन्छ? यो आज पनि उही प्रश्न यथावत् छ। वर्ष फेरिन्छ। सरकार फेरिन्छ। मन्त्री फेरिन्छन्। तर, चिनीको कथा भने हरेक वर्ष उस्तै देखिन्छ।

यसपटक पनि बजारमा चिनीको आपूर्ति खुम्चिन थालेपछि मूल्य बढ्न थाल्यो। ग्यासको अभावले उपभोक्ता हैरान भईरहेको बेला चिनीले अभावले सरकार र उपभोक्ताको टाउको दुख्नु स्वभावितक हो । ग्यास अभावको विषय सडकदेखि सदनसम्म उठ्न थालेपछि चिनीमा पनि त्यस्तै अवस्था आउने जोखिम देखियो।

सम्भावित अभावलाई टार्न र मूल्य कम गर्न भदौं १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चिनी आयात गर्ने निर्णय ग¥यो। मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनलाई २५ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दियो।

सरकारको निर्णयपछि साल्ट ट्रेडिङले पहिलो चरणमा १२ हजार ५ सय मेट्रिक टन चिनी आयात ग¥यो। चिनी आयातमा दुई अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको बताइएको छ। बजारमा त्यतिबेला चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँभन्दा माथि पुगिसकेको थियो। कतिपय स्थानमा उपभोक्ताले अझ महँगो मूल्यसमेत तिर्नुपरेको गुनासो गर्दै आइरहेका छन् ।

त्यही बेला साल्ट ट्रेडिङले बजारमा चिनी पठाउन थालेपछि मूल्य केही घट्यो। साल्ट ट्रेडिङका काउन्टरमा प्रतिकिलो १०० रुपैयाँमै चिनी उपलब्ध हुन थाल्यो। खुद्रा व्यवसायीलाई १०५ रुपैयाँमा चिनी उपलब्ध गराइयो र उनीहरूले अधिकतम ११० रुपैयाँमा बिक्री गर्न पाउने व्यवस्था गरियो।

कर्पोरेसनबाट चिनी खुद्रा ब्यापारीले उठाउन थालेपछि ११५ रुपैयाँको हाराहारीमा झरेको खुद्रा व्यापारीहरु आफै बताउँछन् । कर्पोरेट समाचारसँगको कुराकानीको खुद्रा व्यापार संघका महासचिव अमुल तुलाधरले साल्ट ट्रेडिङसँगकै चिनी उठाएर मूल्य घटाउन आफ्नो ब्यापारमा ११५ रुपैयाँमा विक्री गर्न भनेको बताउँछन् ।

उनी भन्छन,‘ हामीले छलफल नै गरेर मूल्य घटाउनका लागि भूमिका खेलेका हौं, अहिले हामीले बेचेको स्थानमा चिनीको मूल्य ११५ रुपैयाँ प्रतिकिलोमा पाइन्छ ।’ तर, यही अवस्थामा फेरि अर्को मोड आयो।

चिनी आयो, तर बजारमा जान पाएन
साल्ट ट्रेडिङले ठूलो परिमाणमा चिनी आयात गरिसकेपछि बजारमा अभाव फेरि देखिन थाल्यो। स्वाभाविक रूपमा अब आयात गरिएको चिनी बजारमा पठाएर आपूर्ति बढाउनुपर्ने थियो।

तर, त्यही चिनी अहिले साल्ट ट्रेडिङको गोदाममा थन्किएको छ। मन्त्रालयबाट बिक्रीको स्वीकृति नआएकाले आयात गरिएको चिनी बजारमा पठाउन नसकिएको साल्ट ट्रेडिङ स्रोत बताउँछ। ‘दुई हप्ता भयो, मन्त्रालयले स्वीकृति दिएको छैन,’ स्रोत भन्छ, ‘स्वीकृति बिना बेच्न पाइँदैन भनेर चिनी अड्काएर राखिएको छ।’ बजारमा चिनी अभाव छ। मूल्य बढिरहेको छ। सरकारसँग चिनी आयात गर्ने अनुमति छ।

साल्ट ट्रेडिङले चिनी आयात गरिसकेको छ। गोदाममा चिनी छ। तर, बजारमा पठाउने अनुमति छैन। सरकारले बजार व्यवस्थापन गर्ने हो भने यस्तो निर्णयको औचित्य के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।

गोदाममा चिनी, बजारमा मूल्य १४० रुपैयाँभन्दा माथि

साल्ट ट्रेडिङसँग रहेको चिनी बजारमा आउन नपाएपछि अहिले बजारमा फेरि मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।

होलसेल बजारमै चिनीको मूल्य प्रतिकिलो १३५ रुपैयाँभन्दा माथि पुगेको छ। सरकारले सस्तो मूल्यमा बजारमा पठाउन सक्ने चिनी गोदाममा थन्किएको छ, तर बजारले भने महँगो चिनी खोजिरहेको छ।
यदि साल्ट ट्रेडिङको चिनी पूर्णरुपमा बजारमा आउने हो भने आपूर्ति बढ्छ।

आपूर्ति बढेपछि निजी क्षेत्रका व्यापारीले पनि मूल्य घटाउनुपर्ने हुन्छ। तर, सरकारी चिनी बजारमा नआउँदा निजी गोदाममा रहेको चिनीको मूल्य बढाउने ठाउँ बनेको व्यवसायीहरूको भनाइ छ।

उद्योगलाई ११८ रुपैयाँमा चिनी दिन सकिन्छ, तर अनुमति छैन

चिनीको समस्या खुद्रा बजारमा मात्र छैन। चकलेट, बिस्कुट, जुस, औषधिलगायतका उद्योगसमेत चिनीको अभाव र मूल्यवृद्धिबाट प्रभावित छन्। ठूला उद्योगलाई काउन्टरबाट एक–दुई किलो चिनी खरिद गरेर उत्पादन चलाउन सम्भव हुँदैन। उनीहरूलाई ठूलो परिमाणमा चिनी आवश्यक पर्छ।

साल्ट ट्रेडिङले उद्योगलाई समेत प्रतिकिलो करिब ११८ रुपैयाँमा चिनी उपलब्ध गराउन सकिने बताउँदै आएको छ। त्यसमा संस्थाको नाफासमेत जोडिएको स्रोतको भनाइ छ। तर, मन्त्रालयबाट बिक्रीको अनुमति नआएकाले उद्योगलाई चिनी दिन नसकिएको साल्ट ट्रेडिङको भनाइ छ।

‘हामी उद्योगलाई पनि प्रतिकिलो ११८ रुपैयाँमा चिनी दिन सक्छौँ। तर, अनुमति बिना बेच्न पाइँदैन भनिएको छ। त्यसैले दिन पाएका छैनौँ,’ स्रोत भन्छ। यता साल्ट ट्रेडिङबाट चिनी नपाएपछि उद्योगीहरू निजी गोदाम धाउन थालेका छन्। निजी गोदामबाट महँगो मूल्यमा चिनी खरिद गर्ने र त्यसमा ढुवानी खर्चसमेत थपिने भएपछि उत्पादन लागतसमेत बढ्ने उद्योगीहरूको गुनासो छ।

साल्ट ट्रेडिङलाई कारबाहीसम्मको दबाब?

चिनीको यो सम्पूर्ण प्रकरणमा अर्को गम्भीर विषय पनि जोडिएको छ । साल्ट ट्रेडिङमाथि कारबाही गर्न वाणिज्य विभागमाथि दिइएको भनिएको दबाब।

वाणिज्य विभागका एक अधिकारीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दबाबमा साल्ट ट्रेडिङमाथि कारबाही प्रक्रिया अघि बढाउनुपरेको थियो।

अझ गम्भीर आरोप त के छ भने, मन्त्री दीपक साहको सचिवालयबाटै विभागका कर्मचारीलाई साल्ट ट्रेडिङमाथि कारबाही गर्न दबाब दिइएको थियो।

स्रोतका अनुसार मन्त्रालयबाट आएको दबाबपछि विभागले साल्ट ट्रेडिङमाथि कारबाही प्रक्रिया अघि बढाएको र जरिवानासमेत तिराइएको थियो। विभागका एक अधिकारीले भने,‘ उहाँहरुको हिसाबमा केही त्यस्तो गम्भिर समस्या थिएन, निर्देशनात्मक  आदेश दिएको भए पनि हुने थियो, तर हामीलाई तिब्र दबाब सचिवालयबाटै आयो कि जसरी पनि जरिवाना ठोक्नु, अनि बाध्य भएर तीन लाख रुपैयाँको जरिवाना तिराएका हौं ।’

सीमित व्यापारीको स्वार्थमा चिनीको खेल
व्यवसायीहरूको एउटा समूहले अहिलेको घटनाक्रमलाई सामान्य प्रशासनिक प्रक्रिया मात्र मान्न तयार छैन। उनीहरूको आरोप छ ।

सरकारले आयात गरेको चिनी साल्ट ट्रेडिङमार्फत बजारमा सहज रूपमा पुग्दा निजी क्षेत्रका केही व्यापारीले महँगोमा चिनी बेच्ने अवसर गुमाउँछन्। त्यसैले सरकारी चिनी बजारमा आउन नदिने वातावरण बनाइएको उनीहरूको दाबी छ।

‘सरकारकै सिफारिस र अनुमति लिएर साल्ट ट्रेडिङले चिनी ल्याएको हो। बजारमा पठाउने हो भने मूल्य नियन्त्रणमा आउँछ। तर, चिनी बजारमा सहज रूपमा पुग्ने अवस्था रोकिएपछि सीमित व्यापारीलाई महँगोमा चिनी बेच्ने ठाउँ बनेको छ,’ एक उपभोक्ता अधिकारी बताउँछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

समाचार प्रमुख

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit