Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

विश्व आर्थिक स्वतन्त्रतामा नेपालको स्थान घट्यो : व्यापारमा सुधार, कानुन र नियमन वरीयतामा गिरावट

विश्व आर्थिक स्वतन्त्रतामा नेपालको स्थान घट्यो : व्यापारमा सुधार, कानुन र नियमन वरीयतामा गिरावट
विज्ञापन
Advertisement

काठमाडौं। विश्व आर्थिक स्वतन्त्रता सूचकाङ्कमा नेपालको स्थान एक स्थान खस्किएको छ ।

विज्ञापन
Advertisement
Advertisement

क्यानडास्थित फ्रेजर इन्स्टिच्युट र समृद्धि फाउन्डेसनको सहकार्यमा सार्वजनिक ‘विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०२६’ अनुसार नेपाल १६५ देशमध्ये ९०औँ स्थानमा रहेको छ। प्रतिवेदनअनुसार नेपालले १० पूर्णाङ्कमध्ये ६.५९ अङ्क प्राप्त गरेको छ। समृद्धि फाउन्डेसनले नेपालमा लगातार १९औँ वर्ष यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन सन् २०२४ सम्मको तथ्याङ्कमा आधारित छ । यसले विभिन्न देशका नीति तथा संस्थाहरूले आर्थिक स्वतन्त्रतालाई कति हदसम्म प्रवर्द्धन गर्छन् भन्ने मूल्याङ्कन गर्छ ।

अन्तर्राष्ट्रिय व्यापारमा सुधार, अन्य क्षेत्रमा गिरावट

नेपालले आर्थिक स्वतन्त्रताका पाँच प्रमुख सूचकमध्ये अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा सुधार गरेको छ । यस क्षेत्रमा नेपाल १२६औँ स्थानबाट ११७औँ स्थानमा उक्लिएको छ । यस सूचकमा नेपालको अङ्क ६.२१ बाट बढेर ६.३९ पुगेको छ । तर, सरकारको आकार, कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकार, स्वस्थ मुद्रामा पहुँच र नियमनसम्बन्धी सूचकमा नेपालको वरीयता खस्किएको छ ।

सरकारको आकारसम्बन्धी सूचकमा नेपाल ४९औँ स्थानबाट ५१औँ स्थानमा झरेको छ। यस क्षेत्रमा नेपालको अङ्क ७.२९ बाट घटेर ७.२५ कायम भएको छ । त्यस्तै, कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षासम्बन्धी सूचकमा नेपाल ९१औँ स्थानबाट ९६औँ स्थानमा पुगेको छ। यस क्षेत्रमा नेपालको अङ्क ४.९२ बाट घटेर ४.८२ मा सीमित भएको छ । यस्तै, स्वस्थ मुद्रामा पहुँचसम्बन्धी सूचकमा नेपालको अङ्क ७.३७ बाट बढेर ७.५७ पुगे पनि वरीयता ९६औँ स्थानबाट १०१औँ स्थानमा झरेको छ ।

नियमनसम्बन्धी सूचकमा पनि नेपालको अवस्था कमजोर बनेको छ। अघिल्लो प्रतिवेदनमा ३७औँ स्थानमा रहेको नेपाल यस वर्ष ५०औँ स्थानमा पुगेको छ । यस सूचकमा नेपालको अङ्क ७.१२ बाट घटेर ६.९० कायम भएको छ ।प्रतिवेदनमा समेटिएका पाँच प्रमुख क्षेत्रका २४ उपसूचकमध्ये नेपाल सात वटामा सुधार गर्न सफल भएको छ भने छ वटामा गिरावट आएको छ । बाँकी ११ उपसूचकमा नेपालको स्थान यथावत् रहेको छ ।

महामारीअघिको स्तरमा फर्कियो नेपालको अङ्क

विश्व आर्थिक स्वतन्त्रता सूचकाङ्कमा नेपालको समग्र वरीयता खस्किए पनि प्राप्ताङ्क भने बढेको छ। प्रतिवेदनअनुसार नेपालको आर्थिक स्वतन्त्रताको अङ्क कोभिड–१९ महामारीका क्रममा भएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको छ । सन् २०१९ मा ६.५२ अङ्कसहित ९८औँ स्थानमा रहेको नेपाल सन् २०२० मा ६.३१ अङ्कसहित १००औँ स्थानमा झरेको थियो । त्यसयता नेपालको अङ्कमा सुधार हुँदै आएको छ ।

आर्थिक स्वतन्त्रता र समृद्धिबीच सम्बन्ध

प्रतिवेदनमा उल्लेख गरिएअनुसार आर्थिक स्वतन्त्रता उच्च भएका देशमा प्रतिव्यक्ति आय र औसत आयु तुलनात्मक रूपमा बढी देखिएको छ। आर्थिक स्वतन्त्रताको माथिल्लो २५ प्रतिशतमा रहेका देशहरूको सन् २०२४ मा औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर रहेको थियो। यसको विपरीत, तल्लो २५ प्रतिशतमा रहेका देशहरूको औसत प्रतिव्यक्ति आय ९ हजार ५५२ अमेरिकी डलर थियो । त्यस्तै, आर्थिक स्वतन्त्रताको उच्च समूहमा रहेका देशहरूको औसत आयु ८०.७ वर्ष रहेकोमा तल्लो समूहमा रहेका देशहरूको औसत आयु ६७.१ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ । फ्रेजर इन्स्टिच्युटका आर्थिक स्वतन्त्रतासम्बन्धी अनुसन्धान अध्यक्ष फ्रेड म्याकमहोनका अनुसार मानिसहरूले आफ्नो अवसर आफैँ छनोट गर्न र निर्णय लिन पाउने वातावरण भएका देशमा समृद्धि तथा जीवनस्तर राम्रो हुने गर्छ ।

हङकङ पहिलो, भारत ८८औँ स्थानमा

विश्वव्यापी वरीयतामा हङकङ पहिलो स्थानमा रहेको छ । त्यसपछि स्विट्जरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिका क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । त्यस्तै, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र मौरिसस पनि शीर्ष स्थानमा रहेका छन् । शीर्ष १० को अन्तिम स्थानमा फिनल्यान्ड, नेदरल्यान्ड्स र संयुक्त अधिराज्य समान वरीयतामा रहेका छन् । दक्षिण एसियाली मुलुकमध्ये भारत ८८औँ स्थानमा रहेको छ । चीन ११०औँ, रुस १४३औँ, जर्मनी १९औँ, जापान १३औँ र फ्रान्स ३९औँ स्थानमा छन् ।सूचकाङ्कको सबैभन्दा तल्लो स्थानमा भेनेजुएला रहेको छ । सुडान, जिम्बाब्वे, लिबिया, म्यानमार र इरान पनि सबैभन्दा कमजोर आर्थिक स्वतन्त्रता भएका देशको सूचीमा परेका छन् ।

के हो विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन ?

फ्रेजर इन्स्टिच्युटले आर्थिक स्वतन्त्रता सञ्जालसँगको सहकार्यमा हरेक वर्ष प्रकाशन गर्ने यो प्रतिवेदनले देशहरूको आर्थिक नीति तथा संस्थागत व्यवस्थाको मूल्याङ्कन गर्छ । सन् २०२६ को प्रतिवेदनमा १६५ देशलाई पाँच प्रमुख क्षेत्रमा मूल्याङ्कन गरिएको छ । ती क्षेत्रहरूमा सरकारको आकार, कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षा, स्वस्थ मुद्रामा पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता र नियमन रहेका छन् । समृद्धि फाउन्डेसन आर्थिक स्वतन्त्रता सञ्जालको सदस्य तथा नेपालमा प्रतिवेदनको सहप्रकाशक हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit