काठमाडौं। बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान गोवास्थित डोना पाउलाको निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्याइएको थियो। चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर गरेर बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। बिहान ५ः२० बजे उनलाई मृत घोषित गरिएको अस्पतालले जनाएको छ।
मणिपाल अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करले पाटेकरलाई गम्भीर कार्डियाक अरेस्ट भएको पुष्टि गरेका छन्। उनका अनुसार अस्पतालले मृत्युको कारण कार्डियाक अरेस्ट भने पनि त्यसको मूल कारण भने तत्काल स्पष्ट नभएको जनाएको छ। मृत्युबारे थप चिकित्सकीय प्रक्रिया र परीक्षणपछि विस्तृत विवरण आउने बताइएको छ। पाटेकरले राति करिब २ः३० बजे असहज महसुस भएको भन्दै एक साथीलाई सन्देश पठाएका थिए। उक्त सन्देश ढिला हेरेपछि साथी बिहान करिब ४ बजे उनको निवास पुगेका थिए। त्यसबेला पाटेकर अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको जनाइएको छ।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले सन् १९७८ को ‘गमन’बाट हिन्दी चलचित्रमा प्रवेश गरेका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘तिरंगा’, ‘प्रहार’, ‘खामोशी’, ‘वेलकम’लगायत चलचित्रमा उनको अभिनय चर्चित रह्यो। ‘परिन्दा’ र ‘क्रान्तिवीर’का लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मान गरिएको थियो।
के हो कार्डियाक अरेस्ट ?
कार्डियाक अरेस्ट भनेको मुटुको विद्युतीय प्रणालीमा अचानक गडबडी उत्पन्न भई मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न बन्द गर्ने अवस्था हो। यस अवस्थामा व्यक्ति अचानक बेहोस हुन सक्छ, सामान्य रूपमा सास फेर्न छाड्न सक्छ र केही सेकेन्डमै शरीरका महत्वपूर्ण अंगमा अक्सिजनको आपूर्ति बन्द हुन्छ। कार्डियाक अरेस्ट र हृदयाघात एउटै अवस्था होइनन्। हृदयाघातमा मुटुमा रगत पुर्याउने धमनी अवरुद्ध हुन्छ भने कार्डियाक अरेस्टमा मुख्य समस्या मुटुको विद्युतीय गतिविधिमा हुन्छ। तर हृदयाघातले कार्डियाक अरेस्ट निम्त्याउन सक्छ।
कार्डियाक अरेस्ट भएपछि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुन्छ। मुटुले रगत पम्प गर्न छाडेपछि मस्तिष्क र अन्य अंगमा अक्सिजन पुग्न बन्द हुने भएकाले तत्काल सीपीआर र आवश्यक परे एईडी प्रयोग गर्न सके जीवन बचाउने सम्भावना बढ्छ। उपचार नपाए यस्तो अवस्था केही मिनेटमै घातक बन्न सक्छ।















प्रतिक्रिया दिनुहोस्