काठमाडौं। सन् २०२६ को शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ९१ वटा आरोहण टोलीमा आबद्ध उनीहरूले आरोहण अनुमति लिएका हुन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्। आरोहण अनुमति दस्तुरबापत विभागले १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख ७ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ।
शरद् ऋतुमा सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा देखिएको छ। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्। मनास्लुबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ। त्यस्तै, धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन्। उनीहरूबाट ८२ लाख ४२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ।
हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ जनाले अनुमति लिएका छन्। त्यसबाट २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी संकलन भएको छ। आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएका छन् भने त्यसबाट २९ लाख १२ हजार रुपैयाँ राजस्व उठेको छ। विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको छ।
देशगत रूपमा हेर्दा सबैभन्दा धेरै चीनका ११८ आरोहीले अनुमति लिएका छन्। त्यस्तै, रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, इटलीका २३, भारतका १८, स्वीट्जरल्याण्डका १६, स्पेनका १६ र जापानका २५ आरोहीले अनुमति लिएका छन्। विभागका अनुसार शरद् ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या र त्यसबाट प्राप्त हुने रोयल्टीले नेपालको पर्वतीय पर्यटनमा विदेशी पर्यटकको आकर्षण कायम रहेको देखाएको छ।















प्रतिक्रिया दिनुहोस्