काठमाडौं। नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आफ्नो आधिकारिक बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
बोर्डको यो बजेट गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित करिब १ अर्ब ६० करोड रुपैयाँको तुलनामा १० करोड बढी हो। गत वर्ष बोर्डले १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको बजेट स्वीकृत गरेको थियो। चालु आर्थिक वर्षको बजेटमा पर्यटन प्रवर्द्धन तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि कुल बजेटको करिब ६६ प्रतिशत हिस्सा छुट्याइएको छ। नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्ने, प्रमुख स्रोत बजारमा बजारीकरण विस्तार गर्ने तथा पर्यटक आगमन बढाउने कार्यक्रमलाई बोर्डले प्राथमिकतामा राखेको छ।
गत आर्थिक वर्षमा भने बोर्डले विनियोजित बजेटको तुलनामा अपेक्षाअनुसार खर्च गर्न नसकेको जनाएको छ। अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि आवश्यक खरिदसम्बन्धी कार्यविधि स्वीकृत हुन ढिलाइ हुनु तथा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहनुजस्ता कारणले गत बर्षको खर्च प्रभावित भएको थियो । बोर्डका अनुसार विदेशमा सञ्चालन हुने प्रवर्द्धनात्मक कार्यक्रम तथा ‘सेल्स मिसन’लगायतका गतिविधिमा खर्च गर्न आवश्यक कार्यविधि ढिलो स्वीकृत भएकाले कार्यक्रम कार्यान्वयनमा असर परेको थियो।
अब कार्यविधि स्वीकृत भइसकेकाले चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने बोर्डको तयारी छ। बोर्डको बजेट निर्माण प्रक्रियामा पनि यसपटक केही ढिलाइ भएको थियो। बोर्ड सञ्चालक समितिमा सदस्य नियुक्तिपछि मात्रै बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनुपर्ने भएकाले बजेट सार्वजनिक हुन समय लागेको बोर्डले जनाएको छ।
पर्यटन सेवा शुल्कबाट १ अर्ब १७ करोड उठाउने लक्ष्य
बोर्डको आम्दानीको प्रमुख स्रोत पर्यटन सेवा शुल्क हो। विदेशी पर्यटकबाट संकलन हुने यस्तो शुल्क पर्यटन प्रवर्द्धनमा खर्च गर्ने बोर्डको प्रमुख वित्तीय आधार हो।चालु आर्थिक वर्षका लागि पर्यटन सेवा शुल्कबाट १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। यो रकम बोर्डको कुल बजेटको ठूलो हिस्सा हो। त्यसैगरी, पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीबाट ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोर्डको छ। नेपालमा पदयात्रा गर्ने विदेशी पदयात्रीका लागि टिम्स प्रणाली पर्यटन व्यवस्थापनको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग हुँदै आएको छ। यसका अतिरिक्त बोर्डले सहभागिता योगदान, हल भाडा, ब्याज तथा अन्य स्रोतबाट समेत आम्दानी गर्ने अनुमान गरेको छ।
नेपाल पर्यटन बोर्डले हरेक वर्ष आफ्नो बजेटको ठूलो हिस्सा पर्यटन प्रवर्द्धनमा केन्द्रित गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्