काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दशैंअघि नै उखु उत्पादक किसानलाई अनुदान रकम भुक्तानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोली (एसएमटी) को बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि, २०८३ स्वीकृत भइसकेकाले किसानले दशैंअघि नै रकम पाउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।
उखु उत्पादक किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उपलब्ध गराइने अनुदान रकम समयमै वितरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा कुनै ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन्। आर्थिक वर्ष २०८३/८४ का लागि उखु किसानलाई अनुदान वितरण गर्न १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको मन्त्रालयले जनाएको छ। उक्त रकम किसानसम्म समयमै पुर्याउन मन्त्रीले निर्देशन दिएकी हुन् ।
उखु उत्पादनमा संलग्न किसानले समयमै अनुदान प्राप्त गर्दा उत्पादन लागत व्यवस्थापन तथा आगामी खेतीका लागि आवश्यक तयारी गर्न सहज हुने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्