काठमाडौं। गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा मोटरेबल पुल बगाएको छ। चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल तथा आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो । यसअघि नै बाढीले चुमनुब्रीका ३५ घर बगाइसकेको छ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीले स्यार खोलामा बाढीसँगै पहिरो ल्याएको हो । पहिरोका कारण स्यार खोला थुनिएर आएको बाढीका कारण बूढीगण्डकी नदीको जलस्तर बढेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । यद्यपी यसबारे थप विवरण आउन बाँकी छ।
घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनका अनुसार घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको छ । उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन् ।
बुढीगण्डकी नदीको जलस्तर बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन् । उनले विशेषगरी सिर्दिबास, जगत्, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।
विपद्को यस घडीमा धैर्य कायम राख्दै आफ्नो र परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्