Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

वर्षा कम, बाढी भीषणः बुढीगण्डकीमा पहिरोले खोला थुनियो कि हिमनदीमा केही भयो ?

वर्षा कम, बाढी भीषणः बुढीगण्डकीमा पहिरोले खोला थुनियो कि हिमनदीमा केही भयो ?
विज्ञापन
Advertisement

काठमाडौं। गोरखाको बुढीगण्डकी क्षेत्रमा आइतबार बिहान आएको भीषण बाढीको कारण वर्षा मात्रै नभई पहिरोले खोला थुनिएर एक्कासि पानी बगेको हुन सक्ने मौसम विज्ञान विभागले प्रारम्भिक आकलन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्ला दिनमा रेकर्ड भएको वर्षाको मात्रा बाढीको भयावह स्वरूपसँग मेल नखाएपछि विभागले पहिरोका कारण खोला थुनिएको वा उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमनदीसम्बन्धी घटना भएको हुन सक्ने सम्भावनालाई समेत अध्ययनको दायरामा राखेको छ। विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार गोरखाका बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षामापन केन्द्रमा पछिल्ला दिनमा सामान्यदेखि मध्यम वर्षा रेकर्ड भएको छ। तर, उक्त वर्षाले मात्रै यति ठूलो बाढी निम्त्याएको हुन सक्ने आधार नदेखिएकाले बाढीको वास्तविक कारण पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको उनले बताएकी छन्।

विभागको प्रारम्भिक निष्कर्षअनुसार बाढी आउनुमा पहिरोले खोला थुन्ने र थुनिएको पानी एक्कासि बग्ने घटना प्रमुख सम्भावनामध्ये एक हो। यस्तो अवस्थामा केही समय पानी थुनिएर बसेपछि अवरोध फुट्दा तल्लो तटीय क्षेत्रमा एकैपटक ठूलो परिमाणमा पानी बग्न सक्छ। यद्यपि, बुढीगण्डकीमा पनि यही प्रक्रिया भएको पुष्टि भइसकेको छैन।

सामान्य वर्षाले मात्रै बाढी आएको देखिँदैन
महानिर्देशक श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा गोरखाका विभिन्न वर्षामापन केन्द्रमा उल्लेख्य वर्षा रेकर्ड भएको छैन। अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर वर्षा भएको थियो भने अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा मापन गरिएको थियो। यस्तै, अक्टोबर ७ मा घ्याच्चुङ तथा अक्टोबर ८ र ९ मा बारपाक क्षेत्रमा पनि छोटो अवधिमा वर्षा भएको तथ्यांकले देखाएको छ।

केही स्थानमा छोटो समयमै वर्षाको तीव्रता बढेको देखिए पनि त्यसले नै बाढीको सम्पूर्ण कारण स्पष्ट पार्न नसकेको विभागको भनाइ छ। श्रेष्ठले भनिन्, ‘प्रारम्भिक विश्लेषणअनुसार पछिल्लो वर्षाले पहिरो निम्त्याएको र पहिरोका कारण खोला थुनिएर बाढी आएको हुन सक्ने सम्भावना छ।’ विभागले वर्षाको कुल परिमाणसँगै वर्षाको तीव्रता, अवधि र त्यस क्षेत्रको भौगोलिक अवस्थालाई पनि विश्लेषण गरिरहेको छ। छोटो समयमा परेको वर्षाले कमजोर भूभागमा पहिरो निम्त्याउन सक्ने भए पनि बुढीगण्डकीमा बाढी आउन त्यही वर्षा पर्याप्त थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

हिमपात र हिमनदीसम्बन्धी घटनाको पनि आशंका

बाढीको कारण पहिरो मात्रै भएको निष्कर्षमा पुग्न नसकिने विभागले जनाएको छ। हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपात तथा हिमनदीसम्बन्धी घटनाले पनि नदीमा असामान्य बहाव सिर्जना गरेको हुन सक्ने सम्भावनालाई विभागले नकारेको छैन। श्रेष्ठले उच्च निकायका अधिकारीहरूलाई दिएको ब्रिफिङमा उच्च हिमाली क्षेत्रमा भएको हिमपात र वर्षाको तीव्रताबारे थप अध्ययन गर्नुपर्ने बताएकी छन्। उनका अनुसार केही वर्षामापन केन्द्रमा छोटो अवधिमा वर्षाको तीव्रता बढेको देखिएको छ। तर, उक्त वर्षाले पहिरो निम्त्याएको हो वा हिमनदीसँग सम्बन्धित कुनै घटना भएको हो भन्ने विषयमा निष्कर्ष निकाल्न अझै अध्ययन गर्न बाँकी छ। उनले भनिन्, ‘यस्तो वर्षाको तीव्रताले पहिरो निम्त्याउँछ कि निम्त्याउँदैन भन्ने विषयमा हामीले अझै अध्ययन गर्न बाँकी छ। वर्षाले पहिरो निम्त्याएको हो वा हिमनदीसम्बन्धी अरू कुनै घटना भएको हो भन्नेबारे पनि थप अध्ययन गर्नुपर्नेछ।’

बाढीको वास्तविक कारण पत्ता लगाउन अध्ययन हुँदै

विभागका अनुसार गोरखा क्षेत्रमा ठूलो वर्षा नभए पनि जमिन कमजोर अवस्थामा रहेको हुन सक्छ। यस्तो अवस्थामा सामान्य वर्षाले समेत पहिरोको जोखिम बढाउन सक्छ। त्यसैले वर्षाको परिमाण कम देखिएकै आधारमा पहिरोको सम्भावना अस्वीकार गर्न नसकिने विभागको भनाइ छ। हालको मौसम पूर्वानुमानले उक्त क्षेत्रमा ठूलो वर्षा प्रणाली सक्रिय हुने संकेत नदेखाए पनि छिटपुट वर्षाको सम्भावना भने कायम छ। बाढी प्रभावित क्षेत्र र कमजोर भूभागमा निरन्तर निगरानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बुढीगण्डकीमा आएको भीषण बाढीको वास्तविक कारण पहिचान गर्न पहिरो गएको अवस्था, खोला थुनिएको सम्भावना, वर्षाको तीव्रता तथा उच्च हिमाली क्षेत्रमा भएका सम्भावित हिमपात र हिमनदीसम्बन्धी घटनाको अध्ययन गरिनेछ। हालसम्म बाढीको कारण पुष्टि भएको छैन। पहिरोले खोला थुनिएर एक्कासि पानी बगेको हुन सक्ने विभागको प्रारम्भिक आकलन भए पनि विस्तृत अध्ययनपछि मात्रै बाढीको वास्तविक कारण स्पष्ट हुने देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit