काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।
साउदी नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक रहेको जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको अधिकारीहरूले बताएका छन्।
यो एक साताभित्र रियाद विमानस्थलमा भएको तेस्रो आक्रमण हो। यसअघि भएका दुई आक्रमणमा चार जनाको मृत्यु भएको थियो भने विमानस्थलमा पार्क गरिएको साउदी व्यावसायिक विमानमा क्षति पुगेको थियो। पछिल्लो आक्रमणपछि विमानस्थलको सेवा अस्थायी रूपमा बन्द गरी उडानहरू अन्यत्र मोडिएको थियो।
यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेका बेला यो घटना भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका पछिल्ला विवरणअनुसार हुथीले पनि आक्रमणको जिम्मेवारी लिएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध साउदी अरबको सैन्य कारबाहीमा अमेरिका सहभागी हुन सक्ने बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निन्दा गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्