काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरिरहेको नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
क्यानडाविरुद्ध महत्वपूर्ण जित निकाल्दै अंकतालिकामा छैटौँ स्थानमा उक्लिएको नेपालका लागि ओमानविरुद्धको खेल आफ्नो स्थान बलियो बनाउने अर्को महत्वपूर्ण अवसर बनेको छ। ओमानको अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। लिग–२ को निर्णायक चरणतर्फ अघि बढिरहेको नेपालका लागि अब प्रत्येक खेलको नतिजा उत्तिकै महत्वपूर्ण हुनेछ। त्यसैले ओमानविरुद्ध जित निकाल्दै अंक थप्ने र ओडीआई मान्यता जोगाउने सम्भावनालाई बलियो बनाउने लक्ष्यसहित आज नेपाली टोली मैदान प्रवेश गर्नेछ।
आइतबार क्यानडालाई पराजित गरेपछि नेपालले अंकतालिकामा सुधार गरेको हो। नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ भने ३४ खेल खेलेको क्यानडाको २५ अंक छ। नेपाल छैटौँ स्थानमा पुगे पनि आफ्नो स्थान सुरक्षित भइसकेको छैन। बाँकी खेलमा अंक गुमाउँदा पुनः दबाबमा पर्न सक्ने भएकाले नेपाललाई निरन्तर राम्रो प्रदर्शन आवश्यक छ।अंकतालिकाको चौथो स्थानमा रहेको ओमान भने तुलनात्मक रूपमा बलियो अवस्थामा छ।
यस्तै, नेपालले ओमानसँगको आजको खेलपछि अक्टोबर १७ मा क्यानडा र अक्टोबर १९ मा पुनः ओमानसँग प्रतिस्पर्धा गर्नेछ। छोटो अवधिमा खेल्नुपर्ने यी महत्वपूर्ण खेलले नेपालको अंकतालिकास्थिति र प्रतियोगितामा अघि बढ्ने सम्भावना निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्। आज घरेलु टोलीविरुद्ध जित निकाल्न सके नेपालको अंकतालिकास्थिति थप मजबुत हुनेछ। त्यसैले आजको खेल नेपालका लागि अर्को प्रतिस्पर्धा मात्र नभई ओडीआई मान्यता जोगाउने अभियानमा आफ्नो दाबेदारी बलियो बनाउने महत्वपूर्ण परीक्षा पनि हो।















प्रतिक्रिया दिनुहोस्