काठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पुललाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने उद्देश्यले पुनःस्थापनाको काम अगाडि बढाइएको हो। बाढीका कारण पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर आरसीसी भाग बगाएको थियो।
यद्यपि, पुलको ट्रस संरचना भने बाँकी रहेकाले त्यसैमा बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे प्राविधिक मूल्याङ्कन गरिएको थियो ।प्राविधिक मूल्याङ्कनपछि बाँकी रहेको ट्रस संरचनामा बेलिब्रिज जडान गरी पुल सञ्चालन गर्ने तयारी गरिएको हो। सोही योजनाअनुसार अहिले बेलिब्रिज जडानको काम सुरु गरिएको छ।
सरकारले दशैंअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्