काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको २०औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको कालिकास्थानमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
पारित प्रस्तावअनुसार बैंकले ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । त्यस्तै, कर प्रयोजनका लागि ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिने जनाएको छ । यसअनुसार बैंकले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश गरी कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ वितरण गर्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा गत असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि पारित गरेको छ ।
२० वर्षदेखि निरन्तर लाभांश
बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि उसले निरन्तर शेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । साधारण सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै बैंकका गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राखेर बैंकको समग्र वित्तीय तथा संस्थागत अवस्था थप सुदृढ बनाउँदै लैजाने बताए ।
बैंकले सेवा विस्तार तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै विभिन्न नयाँ सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित बचत खातालगायत सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन दिन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
बैंकले हाल देशका ६१ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । बैंकका अनुसार देशभर २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्