काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले यसका लागि उपयुक्त घर तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ ।
पार्टीको बढ्दो सांगठनिक आवश्यकता पूरा गर्न र दीर्घकालीन संस्थागत स्थायित्व कायम गर्न हालको अस्थायी कार्यालय व्यवस्थापनलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी संरचनामा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागिएको हो । रास्वपाको २०८३ असोज १७ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीले घरजग्गा खरिद प्रक्रिया अघि बढाएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
खरेलका अनुसार केन्द्रीय कार्यालयका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधारयुक्त र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर आवश्यक छ । त्यस्तै, कार्यालयको भौतिक संरचना निर्माण गर्न पुग्ने पर्याप्त क्षेत्रफलको जग्गा पनि खरिद गर्न सकिनेछ । उक्त मापदण्ड पूरा गर्ने इच्छुक घरधनी तथा जग्गाधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आफ्नो प्रस्ताव पेस गर्न पार्टीले अनुरोध गरेको छ ।
घरजग्गा खरिदसम्बन्धी थप जानकारी, आवश्यक सर्त तथा मापदण्डका लागि पार्टीले उपलब्ध गराएको दस्तावेज डाउनलोड गरी अध्ययन गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्