काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने बताएका छन् ।
बुधबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले बिजुलीमा भ्याट लगाउने वा हटाउने विषय अब मन्त्रिपरिषद्बाट टुंगो लाग्ने जानकारी दिएका हुन् । विद्युत्मा लाग्दै आएको भ्याट हटाउने विषयमा करिब तीन साताअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र ऊर्जामन्त्री श्रेष्ठबीच सहमति भएको समाचार आएको थियो। तर, त्यसपछि अर्थमन्त्री वाग्लेको सचिवालयले सामाजिक सञ्जालमार्फत उक्त विषयमा खण्डनसहित धारणा सार्वजनिक गरेपछि निर्णयको अवस्थाबारे अन्योल सिर्जना भएको थियो ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको छलफलमा समेत बिजुलीमा लाग्दै आएको भ्याट हटाउने विषयमा सहमति बनेको समाचार सार्वजनिक भएको थियो ।यद्यपि, भ्याट हटाउने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट टुंगो लाग्ने मन्त्री श्रेष्ठले आज स्पष्ट पारेका छन् ।
विद्युत्मा लाग्ने भ्याट हटाउने निर्णय कार्यान्वयनमा आएमा त्यसको प्रभाव विद्युत् क्षेत्र र सम्बन्धित उपभोक्तामा पर्न सक्नेछ ।















प्रतिक्रिया दिनुहोस्