काठमाडौं । दशैं, तिहार र छठलाई लक्षित गर्दै यती एअरलाइन्सले यात्रुका लागि ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर जित्न सकिने चाडपर्व योजना ल्याएको छ ।
‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक अभियानअन्तर्गत बम्पर उपहारमा स्कुटरका साथै साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पनि राखिएको छ । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको यो अभियान असोज २३ गतेदेखि सुरु भएको हो। कात्तिक ३० गतेसम्म ३९ दिन सञ्चालन हुने अभियानमार्फत हवाई यात्रालाई चाडपर्वको उत्साह र पुरस्कारसँग जोड्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीका अनुसार अभियान अवधिमा यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रु स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। यसका लागि यात्रुले छुट्टै दर्ता गर्नुपर्ने छैन। तर, रद्द गरिएका, रिफन्ड भएका वा प्रयोग नगरिएका टिकट भने पुरस्कार छनोट प्रक्रियामा समावेश गरिने छैनन्।
डिसेम्बर १ मा विजेता घोषणा गरिने
अभियानअन्तर्गतका विजेताको घोषणा आगामी डिसेम्बर १, २०२६ मा गरिने यती एअरलाइन्सले जनाएको छ । कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विजेताको नाम सार्वजनिक गरिनेछ । लक्की ड्रबाट छनोट हुने मुख्य विजेताले ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, अभियान अवधिमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइट जित्ने अवसरसमेत यात्रुहरूलाई उपलब्ध हुनेछ ।
यती एअरलाइन्सले चाडपर्वमा यात्रुबाट प्राप्त विश्वास र साथप्रति आभार व्यक्त गर्दै यात्रा अनुभवलाई थप विशेष बनाउन अभियान ल्याएको जनाएको छ। दशैं, तिहार र छठमा पारिवारिक भेटघाट तथा घुमफिरका लागि हवाई यात्रा गर्ने यात्रुलाई लक्षित गरी ल्याइएको योजनाले यात्राका साथै पुरस्कार जित्ने अवसरसमेत प्रदान गर्ने कम्पनीको अपेक्षा छ । अभियानमा सहभागी हुन यात्रुले तोकिएको अवधिभित्र टिकट बुक गरेर यात्रा पूरा गर्नुपर्नेछ । त्यसपछि उनीहरू स्वतः लक्की ड्रमा समावेश हुनेछन् ।















प्रतिक्रिया दिनुहोस्