काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पोखरामा बुधबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो। बैंकको प्रस्तावअनुसार शेयरधनीले करसहित कुल ६ प्रतिशत लाभांश पाउनेछन्। यसमध्ये ३ प्रतिशत बोनस शेयरका रूपमा र बाँकी ३ प्रतिशत नगद लाभांशका रूपमा वितरण हुनेछ। लाभांश प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी पनि बढ्नेछ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
रोशन केसी चार वर्षका लागि पुनः अध्यक्ष
साधारण सभाले बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम पनि निर्विरोध सञ्चालक चुनिएका छन्। नवनिर्वाचित सञ्चालक समितिको बुधबार बसेको बैठकले रोशन केसीलाई पुनः अध्यक्ष चयन गरेको छ। उनी आगामी चार वर्षका लागि बैंकको अध्यक्ष रहनेछन्।
बैंकले कमायो १ अर्ब ९५ करोड नाफा
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। बैंकले यही आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेस गरेको थियो। साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएसँगै बैंकले बोनस शेयर र नगद लाभांश वितरणको प्रक्रिया अघि बढाउने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्