काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको बिहीबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ११ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।
यसैगरी, सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कार्यरत एनबीएसएम एन्ड एसोसिएट्सलाई नै लेखापरीक्षकका रूपमा निरन्तरता दिने निर्णयसमेत गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रति शेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ। सोही अवधिमा वितरणयोग्य आम्दानी १२.८६७ प्रतिशत रहेकोमा त्यसबाट शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको हो। नेपालको पुँजी बजारमा शेयर निष्काशनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुवात गर्ने पहिलो संस्थाका रूपमा रहेको लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा लामो समयदेखि नेपालको धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कम्पनीले हाल करिब ६ अर्ब रुपैयाँ बराबरका ६ वटा बन्दमुखी म्युचुअल फण्ड र एउटा खुलामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ। यी कोषहरूको कुल आकार करिब ७ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ। त्यसैगरी, विशिष्टीकृत लगानी कोषअन्तर्गत एक अर्ब रुपैयाँ पुँजी भएको लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित लक्ष्यअनुसार पुँजी संकलन गरी दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको छ। यसले दिगो ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा लगानीमार्फत योगदान पुर्याउने लक्ष्य राखेको छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेड इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था पनि हो।















प्रतिक्रिया दिनुहोस्