काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने बताएका छन्।
उनले पार्टीको नियमित प्रशासनिक कामभन्दा बाहिर रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजनासमेत अघि सारेका छन्। शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आन्तरिक निर्वाचनको जित–हारलाई अन्तिम मानक बनाउन नहुने बताए।
पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन छुटेका योग्य र सक्षम नेताहरूको भूमिका पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो। ‘पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन। पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ,’ थापाले भने। उनले पार्टीका दैनिक प्रशासनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले सम्हाल्ने गरी आफू समसामयिक मुद्दा, नागरिकका समस्या र जनअपेक्षा बुझ्न देशभर पुग्ने बताए। कांग्रेसको संगठन, कार्यशैली र सोच्ने तरिकामा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले रोजगारी, वैदेशिक पलायन, आर्थिक विकास, सुशासन र सामाजिक विभेदजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
थापाले कांग्रेसलाई नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सक्ने पार्टीका रूपमा स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको पनि स्पष्ट पारे। सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो। कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभई लाखौँ नागरिकको साझा संस्था भएको उल्लेख गर्दै उनले पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए। व्यक्तिगत कमजोरीको बचाउ नगरी पार्टीलाई स्वच्छ, जिम्मेवार र जनउत्तरदायी बनाउने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्