काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै वर्तमान सरकारको स्वेच्छाचारी कार्यशैलीले सीमा नाघेको टिप्पणी गरेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका थापाले सरकारको पछिल्लो गतिविधि लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठाउने खालको भएको बताएका हुन्। आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार पक्राउ गर्ने तथा पक्राउको तयारी गर्ने सरकारको प्रवृत्ति गलत भएको बताए।
मिडिया हाउसमा प्रहरी प्रवेश गराइएको घटनाले पञ्चायती शासनकालको झल्को दिएको उनको भनाइ छ। ‘मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ। विरोध भएपछि पत्रकारहरूलाई छोडिएको हो। विचित्रको विषय बाहिर आएको छ,’ थापाले भने। यसैगरी, थापाले सरकारको कामकारबाही र शक्ति प्रयोग गर्ने शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरे। सरकार आफू नै राज्य भएको र आफ्ना आदेश नै कानुनसरह हुने सोचबाट अघि बढ्न खोजेको उनको भनाइ छ। ‘अहिले सरकारको कामकारबाहीले र पछिल्लो समय देखिएको प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ थापाले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’
उनले सरकारबाट शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको पनि टिप्पणी गरे। राज्यका निकायलाई व्यक्तिगत इच्छा र आदेशअनुसार परिचालन गर्न खोज्नु लोकतान्त्रिक शासन व्यवस्थाको मर्मविपरीत भएको उनको भनाइ छ। थापाले भने, ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ। मेरो इच्छा नै कानुन हो भन्ने भयो, अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’ शुक्रबार सञ्चारकर्मी र स्वतन्त्र प्रेसजगतलाई आतंकित पार्ने गरी राज्यद्वारा भएको व्यवहारप्रति उनले रास्वपालाई गम्भीर हुन माग गरेका छन् । थापाले झोक र आवेगका आधारमा पत्रकारलाई पक्राउ गर्ने, धम्क्याउने वा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताए। समाचारप्रति असहमति भए कानुनी र लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो धारणा राख्न सकिने भए पनि प्रहरी परिचालन गरेर सञ्चारमाध्यमलाई त्रसित पार्नु उचित नभएको उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्