काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली, नीतिगत अनिश्चितता र भयको वातावरणले देशको अर्थतन्त्र थप शिथिल बनेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले आर्थिक सुधारलाई प्राथमिकतामा राख्न नसकेको टिप्पणी गर्दै उनले अर्थतन्त्रको संकट समाधान गर्न सरकारलाई विश्वासको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष सम्बोधनमा थापाले अहिले नेपालको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र र त्यससँग जोडिएको विश्वासको संकट भएको बताए। सरकारले राजनीतिक गतिविधि र धरपकडमा भन्दा आर्थिक गतिविधि चलायमान बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो। ‘आजको दिनको सबैभन्दा ठूलो विषय भनेको हाम्रो इकोनोमीको विषय हो। फागुन २१ भन्दा पहिले अर्थतन्त्र एकदम ठीकठाक थियो, अहिले आएर अप्ठ्यारो भयो भन्ने हामी भनिरहेका छैनौँ,’ गगनले भने,‘ केही कुरा ठीक थिए, धेरै कुरा बेठीक थिए। त्यही भएर त नयाँ सरकार आयो र उसले म्यान्डेट पायो। अब ती कुरा ठीक बनाउने जिम्मेवारी तपाईंहरूको हो।’
उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार र लगानी परिचालन हुन नसकेको अवस्थालाई अर्थतन्त्रको गम्भीर समस्याका रूपमा प्रस्तुत गरे। लामो समयसम्म दोहोरो अंकमा रहेको ब्याजदरका कारण कर्जा प्रवाह प्रभावित भएको र अहिले बैंकमा पैसा थुप्रिए पनि त्यसले आर्थिक गतिविधि बढाउन नसकेको उनको भनाइ थियो। ‘बैंकमा यति धेरै पैसा थुप्रिएको छ। कर्जाको परिचालन नै हुँदैन। लगानी विस्तार नै हुँदैन। बाहिर जति हल्ला गरे पनि कोही विदेशबाट एक रुपैयाँ पैसा लिएर यहाँ लगानी गर्न आएको छैन,’ उनले भने।
थापाले बैंकिङ प्रणालीमा कर्जा असुलीको समस्या पनि गम्भीर बन्दै गएको उल्लेख गरे। विश्व बैंकको तथ्यांकलाई उद्धृत गर्दै उनले व्यवसायमा आएको मन्दीका कारण साना तथा ठूला व्यवसायीले ऋणको किस्ता तिर्न नसकिरहेको बताए। ‘व्यापार व्यवसाय नभएपछि साना व्यवसायीहरूले, ठूला व्यवसायीहरूले कसैले पनि आफूले लिएको ऋणको किस्ता तिर्न सकिरहेका छैनन्,’ उनले भने।उनका अनुसार विकास खर्चको कमजोर अवस्था, प्राकृतिक विपद्का कारण राष्ट्रिय ढुकुटीमा परेको दबाब र विश्वव्यापी आपूर्ति शृंखलामा आएको अवरोधले आर्थिक चुनौती थप जटिल बनाएको छ। यस्तो परिस्थितिमा मूल्यवृद्धि नियन्त्रण र आर्थिक गतिविधि विस्तार सरकारको मुख्य प्राथमिकता हुनुपर्ने उनको जोड थियो। थापाले अर्थतन्त्रमा देखिएको संकटको जड नीतिगत अनिश्चितता र सरकारप्रतिको विश्वास कमजोर हुनुमा रहेको दाबी गरे।
सरकारको पछिल्लो व्यवहारले कर्मचारी, व्यवसायी र लगानीकर्तामा त्रास सिर्जना गरेको भन्दै उनले यस्तो वातावरणमा लगानी र उत्पादन विस्तार सम्भव नहुने बताएका हुन्।‘आज नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या भनेकै विश्वासको संकट हो। सरकारको पोलिसी प्रेडिक्टेबल छैन्। यसले कतिखेर कसलाई के गरिदिन्छ भन्ने ठेगान छैन। सब थुरथुर छन्। कर्मचारी थुरथुर, व्यवसायी थुरथुर,’ उनले भने। प्रहरी, निजामती प्रशासन, अदालत र संवैधानिक निकायसमेत अनिश्चितता र दबाबबाट प्रभावित भएको उनले बताए। विगतमा संस्थाहरूमा दलीयकरण र बेथिति रहेको भन्दै सुधारको आवश्यकता औँल्याउँदै आएका थापाले अहिलेको कार्यशैलीले संस्थागत सुधारभन्दा थप अन्योल सिर्जना गरिरहेको बताए।
‘अहिले चाहिएको डर होइन, विश्वास हो, भरोसा हो। डरको वातावरणबाट शिथिल भएको अर्थतन्त्रलाई अगाडि बढाउन सकिँदैन,’ उनले भने, ‘यस्तो अनप्रेडिक्टेबल वातावरण र गन्जागोल बनाएर हामी कहीँ कतै सुधार गर्न सक्दैनौँ।’ सरकारले पक्राउ र रिहाइका घटनाबाट रमाउनुभन्दा आर्थिक सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। आर्थिक सुधारसम्बन्धी विधेयक ल्याए कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिपक्षको भूमिकाबाट सहयोग गर्ने उनले स्पष्ट पारे। ‘तपाईंहरूले आर्थिक सुधारका विधेयक ल्याउने हो भने हामी २४सै घण्टा काम गर्न तयार छौँ,’ थापाले भने।
उनले वर्तमान सरकारलाई पाँच वर्षको म्यान्डेट प्राप्त भएको सम्मान गर्ने तर कांग्रेस पाँच वर्ष प्रतिपक्षमा रहने जनादेशलाई पनि सरकारले सम्मान गर्नुपर्ने बताए। रास्वपा, एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा नागरिक समाजसँग आर्थिक सुधारका विषयमा छलफल गर्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले लोकतन्त्र, कानुनी शासन र जवाफदेहितामा सम्झौता नहुने स्पष्ट पारे। ‘सरकारले यी कुरा बुझोस् र सम्मान गरोस्। सरकार स्वेच्छाचारी हुने र जवाफदेही नहुने कुरा हामीलाई स्वीकार्य छैन। डरबाट शासन गर्ने कुरा मलाई स्वीकार्य छैन,’ उनले भने। उनका अनुसार अहिले देशलाई राजनीतिक प्रतिशोध र त्रास होइन, स्थिर नीति, संस्थागत विश्वास र लगानीमैत्री वातावरण आवश्यक छ।














प्रतिक्रिया दिनुहोस्