Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

तीन महिनामै २० वाणिज्य बैंकले कमाए १९ अर्ब १४ करोड, प्रभु बैंकको निष्क्रिय कर्जा १४.८० प्रतिशत पुग्यो

तीन महिनामै २० वाणिज्य बैंकले कमाए १९ अर्ब १४ करोड, प्रभु बैंकको निष्क्रिय कर्जा १४.८० प्रतिशत पुग्यो
विज्ञापन
Advertisement

बैंकको नाफा बढ्दा निष्क्रिय कर्जाको दबाब चर्कियो, आठ बैंकको एनपीएल ५ प्रतिशत माथ

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले असोज मसान्तसम्म कुल १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५।५९ प्रतिशतले बढी हो।

तर, बैंकहरूको नाफामा देखिएको यो उत्साहसँगै अर्को गम्भीर चुनौती पनि थपिएको छ। त्यो हो, बढ्दो निष्क्रिय कर्जा ९एनपीएल०। बैंकहरूको नाफा बढे पनि कर्जाको गुणस्तरमा भने अपेक्षित सुधार हुन सकेको देखिँदैन। बरु अधिकांश बैंकमा निष्क्रिय कर्जा बढ्दै गएको छ, जसले बैंकिङ क्षेत्रको वित्तीय स्वास्थ्य र आगामी व्यावसायिक सम्भावनाप्रति नयाँ प्रश्न खडा गरेको छ।

बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये १२ वटाको निष्क्रिय कर्जा अनुपात बढेको छ। केही बैंकमा सामान्य वृद्धि देखिए पनि केहीमा भने उल्लेख्य दरले बढेको छ। समग्रमा बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षको असोज मसान्तको ४.८६ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ। अर्थात् एक वर्षको अवधिमा औसत निष्क्रिय कर्जा अनुपात ०.७८ प्रतिशत बिन्दुले बढेको छ।

यो तथ्यांकले बैंकिङ क्षेत्रमा कर्जा असुलीको चुनौती अझै गहिरिँदै गएको संकेत गर्छ। विशेषगरी अर्थतन्त्रमा अपेक्षित गतिशीलता आउन नसक्दा उद्योग, व्यापार तथा व्यवसायको आम्दानी प्रभावित भएको र त्यसको असर ऋण भुक्तानीमा देखिन थालेको बैंकरहरूको बुझाइ छ।

प्रभु बैंकको निष्क्रिय कर्जा सबैभन्दा उच्च

पहिलो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा अनुपात प्रभु बैंकको देखिएको छ। बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिमा ५.७८ प्रतिशत रहेकोमा चालु आवको असोज मसान्तसम्म बढेर १४.८० प्रतिशत पुगेको छ। एक वर्षमै ९.०२ प्रतिशत बिन्दुको वृद्धि हुनु बैंकका लागि ठूलो चुनौती हो।

त्यस्तै, एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात २.८२ प्रतिशत बिन्दुले बढेको हो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा २.२४ प्रतिशत बिन्दुले बढेर ८.८७ प्रतिशत पुगेको छ। कुमारी बैंकको निष्क्रिय कर्जा पनि ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ। यस बैंकको निष्क्रिय कर्जा अनुपातमा १.७४ प्रतिशत बिन्दुको वृद्धि भएको हो।

हिमालयन बैंकको निष्क्रिय कर्जा ०.५९ प्रतिशत बिन्दुले बढेर ७.९८ प्रतिशत पुगेको छ भने प्राइम बैंकको १।२९ प्रतिशत बिन्दुले बढेर ७.१५ प्रतिशत पुगेको छ। सिटिजन्स बैंकको निष्क्रिय कर्जा भने ०.०४ प्रतिशत बिन्दुले घटेर ६.८० प्रतिशतमा झरेको छ। लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ०.१६ प्रतिशत बिन्दुले बढेर ५.५८ प्रतिशत पुगेको छ।

यसरी असोज मसान्तसम्म आठ वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ। बैंकिङ क्षेत्रमा कर्जाको गुणस्तर कमजोर हुँदै गएको संकेतका रूपमा यसलाई हेरिएको छ।

केही बैंकमा सुधार, एभरेस्टको अवस्था सबैभन्दा राम्रो

सबै बैंकको निष्क्रिय कर्जा भने बढेको छैन। केही बैंकले कर्जा असुली तथा जोखिम व्यवस्थापनमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्।

एनएमबी बैंकको निष्क्रिय कर्जा ०.३४ प्रतिशत बिन्दुले बढेर ४.९२ प्रतिशत पुगेको छ। कृषि विकास बैंकको ०.०१ प्रतिशत बिन्दुले बढेर ४.७९ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा भने ०.१९ प्रतिशत बिन्दुले घटेर ४.७९ प्रतिशत कायम भएको छ।

नेपाल बैंकको निष्क्रिय कर्जा ०.८८ प्रतिशत बिन्दुले घटेर ४.६१ प्रतिशतमा झरेको छ। नबिल बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.०६ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.१६ प्रतिशत बिन्दुले घटेर ३.९७ प्रतिशत पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशत बिन्दुले बढेर ३.८९ प्रतिशत कायम भएको छ। सिद्धार्थ बैंकको ०.१० प्रतिशत बिन्दुले घटेर ३.७० प्रतिशत, नेपाल एसबीआई बैंकको ०.१८ प्रतिशत बिन्दुले बढेर ३.१९ प्रतिशत र सानिमा बैंकको १.०५ प्रतिशत बिन्दुले घटेर २.८६ प्रतिशतमा झरेको छ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा ०.१२ प्रतिशत बिन्दुले बढेर १.८३ प्रतिशत पुगेको छ। एभरेस्ट बैंकको भने ०.२४ प्रतिशत बिन्दुले घटेर ०.५० प्रतिशत कायम भएको छ। यो २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात हो।

यसले सबै बैंकको कर्जा पोर्टफोलियोमा समान जोखिम नरहेको देखाउँछ। कर्जा प्रवाहको क्षेत्र, ऋणीको अवस्था, जोखिम मूल्यांकन, असुली प्रणाली र आन्तरिक व्यवस्थापनले बैंकहरूको निष्क्रिय कर्जामा फरक पारेको हुन सक्छ।

ऋणीलाई दबाब होइन, सहजीकरणको रणनीति

निष्क्रिय कर्जा बढ्दै गएपछि बैंकहरूले यसको व्यवस्थापनका लागि परम्परागत असुली रणनीतिमा मात्र निर्भर नभई ऋणीसँगको सम्बन्ध र सहजीकरणलाई पनि प्राथमिकता दिन थालेका छन्।

अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसक्दा उद्योगी, व्यवसायी तथा ऋणीको आम्दानी र नगद प्रवाह प्रभावित भएको छ। कतिपय व्यवसाय सञ्चालनमै रहे पनि बजारमा माग कमजोर हुनु, कारोबार घट्नु र पूँजीको चक्र प्रभावित हुनुले ऋणको साँवा तथा ब्याज नियमित रूपमा भुक्तानी गर्न नसकेको अवस्था छ। यस्तो अवस्थामा सबै ऋणीलाई एउटै दृष्टिकोणबाट हेर्नुभन्दा उनीहरूको वास्तविक अवस्था बुझेर समाधान खोज्नुपर्ने आवश्यकता बैंकहरूले महसुस गर्न थालेका छन्।

एक बैंकरका अनुसार अहिले बैंकका उच्च तहका अधिकारीहरू नै ऋणीको सम्पर्कमा पुगेर उनीहरूको समस्या सुन्ने, व्यवसायको अवस्था बुझ्ने र कर्जा भुक्तानीका सम्भावित विकल्पबारे छलफल गर्ने अभ्यास बढेको छ। ऋणीको नियत खराब नभई आर्थिक गतिविधिमा आएको सुस्तताका कारण भुक्तानी प्रभावित भएको अवस्थामा बैंकहरूले सहजीकरणको बाटो रोज्न थालेका छन्।

बैंकहरूले ऋणीलाई कर्जा चुक्ता गर्न दबाब दिने मात्र नभई सम्भव भएसम्म भुक्तानीको विकल्प सुझाउने, व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने र असुलीको सम्भावना बढाउने रणनीति अपनाउन थालेका छन्। यसले वास्तविक समस्यामा परेका तर ऋण तिर्ने क्षमता र नियत भएका ऋणीलाई राहत पुग्ने तथा बैंकको कर्जा असुलीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नाफा वृद्धिसँगै कर्जाको गुणस्तर सुधार्नुपर्ने दबाब

बैंकहरूको नाफा वृद्धि हुनु सकारात्मक पक्ष हो। तर नाफा बढ्नु मात्रै बैंकिङ क्षेत्रको सबलताको पर्याप्त संकेत होइन। बैंकले प्रवाह गरेको कर्जा कति सुरक्षित छ, ऋणीको भुक्तानी क्षमता कस्तो छ र कर्जाबाट प्राप्त हुने आम्दानी कति दिगो छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकहरूले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्ने हुन्छ। यसले आगामी दिनमा बैंकको नाफा, लगानी क्षमता र नयाँ कर्जा प्रवाह गर्ने सामर्थ्यमा समेत दबाब सिर्जना गर्न सक्छ। त्यसमाथि निष्क्रिय कर्जाको अनुपात उच्च हुँदै जाँदा बैंकको सम्पत्तिको गुणस्तर र जोखिम व्यवस्थापनप्रति नियामक तथा लगानीकर्ताको चासो पनि बढ्नेछ।

अहिलेको चुनौती बैंकले कति नाफा कमाए भन्नेमा मात्र सीमित छैन। प्रवाह भएको कर्जालाई कसरी सुरक्षित राख्ने, समस्यामा परेका तर सम्भावना भएका व्यवसायलाई कसरी पुनर्जीवित गर्ने र वास्तविक रूपमा खराब बनेको कर्जाको प्रभावकारी व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit