काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ ः आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ।
प्रदर्शनमा आएको १० दिनमै फिल्मले १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै यस वर्ष छोटो समयमा उक्त आँकडा पार गर्ने फिल्मको रेकर्ड बनाएको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म १० करोड ७६ लाख ७३ हजार रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक बक्स अफिस विवरणअनुसार फिल्मका १० दिनको अवधिमा ३ लाख ४६ हजार ४२७ वटा टिकट बिक्री भएको उल्लेख छ।
यससँगै ‘कबड्डी ५’ यस वर्ष १० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने तेस्रो फिल्म बनेको छ। यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको शीर्ष स्थानमा ‘गौंथली’ रहेको छ। उक्त फिल्मले हालसम्म २६ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस्तै, १० करोड २८ लाख रुपैयाँ कमाइसहित ‘पेन्सन पट्टा’ तेस्रो स्थानमा छ। प्रदर्शनको सुरुआतदेखि नै दर्शकको राम्रो साथ पाएको ‘कबड्डी ५’ले समीक्षात्मक रूपमा भने मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मको कथा र प्रस्तुतिलाई केही दर्शकले रुचाएका छन् भने कतिपयले अपेक्षाअनुसार नभएको प्रतिक्रिया दिएका छन्। यद्यपि, दर्शकबाट प्राप्त मिश्रित प्रतिक्रियाका बीच पनि फिल्मको व्यापारिक प्रदर्शन भने सन्तोषजनक देखिएको छ।
‘कबड्डी’ शृंखलाको पाँचौँ भागमा पुराना परिचित पात्रसँगै नयाँ कलाकारसमेत देखिएका छन्। फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ र मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ। बाँको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन्।















प्रतिक्रिया दिनुहोस्