Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
विज्ञापन
Advertisement

गण्डकी। पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वी खण्ड (जामुने–मुग्लिन) को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्याउने अवधि (डीएलपी) सुरु भइसकेको छ’, उनले भने, ‘डीएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ।’

इन्जिनियर पाण्डेका अनुसार कुल ४१.४५ किलोमिटर दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किलोमिटर सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ। पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन्।

तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको पाण्डेले बताए। पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो। निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै संघीय राजधानी काठमाडौं, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ। निर्माणका क्रममा धुलो र हिलोको सास्ती खेपेका सर्वसाधारणले अहिले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन्।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। ‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झन्डै पाँच किलोमिटर जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ’, उनले भने, ‘रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरू धमाधम भइरहेका छन्।’

पोखरा महानगरपालिका–१० अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको कुँवरले बताए। निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्याउने अवधि (डीएलपी) रहने उनले जानकारी दिए। ‘सडक हस्तान्तरण गरे पनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डीएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ’, उनले भने।

कुल ३८.८८ किलोमिटर दूरीको पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेन र बाँकी चार लेनको निर्माण भएको कुँवरले बताए। ‘पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, उनले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ। यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा निर्माण भइसकेका छन्। पोखराको सेती नदीमाथि बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डका लागि विसं २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु भएको थियो। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको ठेक्का पाएको थियो। कुल ८१ किलोमिटर दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति गरिएको हो। सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजनाको निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ। पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँ यात्रा गर्नुपर्ने पर्यटक तथा सर्वसाधारणको बाध्यता पनि अन्त्य हुने अपेक्षा गरिएको छ। सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरू पनि खुला र आकर्षक देखिएका छन्। अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायत स्थानमा मापदण्डविपरीतका संरचना हटाएर सडक तथा चोकलाई चौडा बनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit