Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

हदबन्दी छुटको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हदबन्दी छुटको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विज्ञापन
Advertisement

काठमाडौं । सार्वजनिक जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रक्रियामार्फत निजी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता तथा पूर्वमन्त्री डा। मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरूविरुद्ध करिब ७३ करोड रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र पेस गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यो प्रकरणको जरो रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिले फलफूल उद्योग सञ्चालन गर्ने प्रयोजनका लागि सरकारबाट पाएको हदबन्दी छुटको जग्गासँग जोडिएको छ। उद्योग सञ्चालनका लागि सर्तसहित उपलब्ध गराइएको सरकारी जग्गा पछि सट्टापट्टाको नाममा हस्तान्तरण तथा बिक्री गर्ने प्रक्रिया अघि बढाइएको र त्यसबाट गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ।

भूमिसुधार मन्त्रालयले २०३२ जेठ १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै रिजाल क्यानिङ एण्ड कम्पनीलाई फलफूल उद्योग सञ्चालनमा रहेसम्म सुनसरी र मोरङमा हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिएको थियो। तर, कम्पनीले निर्धारित प्रयोजनविपरीत २०४१ असार २ गते १० बिघा १७ कट्ठा १० धुर जग्गा रिजाल टाशी इन्डस्ट्रिज प्रालिलाई छोडपत्र गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

हदबन्दी छुट पाएका उद्योगहरूले निर्धारित सर्तअनुसार जग्गा प्रयोग गरे वा नगरेको विषयमा छानबिन गर्न २०४८ सालमा उच्चस्तरीय समिति गठन भएको थियो। समितिको अध्ययनपछि रिजाल क्यानिङ एण्ड कम्पनीले सर्तअनुसार जग्गा उपयोग नगरेको निष्कर्ष निकाल्दै २०४८ चैत २३ गते कम्पनीको नाममा रहेको जग्गा जफत गर्ने निर्णय भएको थियो। सोही निर्णयका आधारमा जग्गा रोक्का राखिएको थियो।

यसबीच जिल्ला प्रहरी कार्यालय मोरङले समेत कम्पनीले जग्गा उद्योग प्रयोजनमा प्रयोग नगरी निजी प्रयोजनमा लगाएको भन्दै जफत गरेर प्रहरी कार्यालयलाई उपलब्ध गराउन माग गरेको थियो। भूमिसुधार कार्यालय मोरङको २०६२ जेठ ६ गतेको प्रतिवेदनले पनि कम्पनीले जग्गा सर्तअनुसार उपयोग नगरी बेवारिसे अवस्थामा छाडेको देखाएको थियो।

तर, यसअघिका निर्णय र प्रतिवेदनविपरीत २०६३ भदौ १२ गते भूमिसुधार कार्यालय मोरङबाट विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ४८ र ७१ को जग्गा फुकुवा गराइएको अख्तियारको दाबी छ।

आरोपपत्रअनुसार कम्पनीले कित्ता नम्बर ४८ को तीन बिघा तीन कट्ठा एक धुर र कित्ता नम्बर ७१ को एक बिघा दुई कट्ठा आठ धुर गरी कुल चार बिघा पाँच कट्ठा नौ धुर जग्गा सट्टापट्टा गर्न माग गरेको थियो। कम्पनीले उक्त जग्गामा रूख तथा झारजंगल रहेको, स्थानीयले फोहोर र मरेका चौपाया फाल्ने गरेको तथा लागुऔषध दुर्व्यसनीको अखडा बनेको भन्दै जग्गा सट्टापट्टा गर्नुपर्ने आधार प्रस्तुत गरेको थियो।

तर, सरकारी निकायका विभिन्न प्रतिवेदन र स्थलगत मुचुल्काले जग्गा फलफूल उद्योग सञ्चालनका लागि प्रयोग नभएको देखाएको अख्तियारको आरोप छ। यस्तो अवस्थामा जग्गा जफत गरी सरकारी तथा सार्वजनिक कायम गर्नुपर्नेमा कर्मचारी र पदाधिकारीको मिलेमतोमा फुकुवा तथा सट्टापट्टाको प्रक्रिया अघि बढाइएको आयोगको निष्कर्ष छ।

जग्गा सट्टापट्टाको प्रस्ताव अघि बढाउने क्रममा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६६ कात्तिक १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको थियो। त्यसपछि तत्कालीन मुख्यसचिव माधव घिमिरेमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको र २०६६ मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त विषय तत्कालीन मन्त्री डा। मिनेन्द्र रिजाल संयोजक रहेको सामाजिक समितिमा पठाउने निर्णय गरेको आरोपपत्रमा उल्लेख छ।

यसरी उद्योग सञ्चालनका लागि सर्तसहित दिइएको जग्गाको स्वामित्व र उपयोगसम्बन्धी विवाद सरकारी निकाय हुँदै मन्त्रिपरिषद्सम्म पुगेको देखिन्छ। अख्तियारले यस प्रक्रियामा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा। मिनेन्द्र रिजाल, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारीलगायत उच्चपदस्थ अधिकारीलाई प्रतिवादी बनाएको छ।

त्यस्तै, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा। अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटालगायत कर्मचारी तथा भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीसमेत आरोपपत्रमा समेटिएका छन्। पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नामसमेत प्रतिवादीको सूचीमा रहेको छ।

यस प्रकरणले हदबन्दी छुटका नाममा उद्योग तथा उत्पादनमूलक प्रयोजनका लागि उपलब्ध गराइने सरकारी जग्गाको उपयोग, त्यसको अनुगमन र सरकारी निर्णय प्रक्रियाको जवाफदेहितामाथि प्रश्न उठाएको छ। सार्वजनिक प्रयोजनका लागि छुट दिइएको जग्गा निर्धारित उद्देश्यभन्दा बाहिर प्रयोग भएमा त्यसको संरक्षण र फिर्ता गर्ने जिम्मेवारी राज्यका निकायको हुन्छ। तर, यस प्रकरणमा विगतका छानबिन र जफतसम्बन्धी निर्णय हुँदाहुँदै जग्गा फुकुवा तथा सट्टापट्टाको प्रक्रिया कसरी अघि बढ्यो भन्ने विषय अब न्यायिक परीक्षणको प्रक्रियामा पुगेको छ।

अख्तियारले लगाएका आरोप अदालतबाट पुष्टि हुन बाँकी छन्। विशेष अदालतको फैसलापछि मात्रै प्रतिवादीहरूको कानुनी जिम्मेवारी र दोषी वा निर्दोष ठहर हुने विषय टुंगिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit