काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आगामी बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले यस वर्ष २.५ ग्राम तौलका सुनका असर्फी र १० ग्राम तौलका चाँदीका सिक्का सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले गत वर्ष सुनको अभावका कारण असर्फी बिक्री गरेको थिएन । त्यतिबेला चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो । तर, यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी त्यसबाट असर्फी उत्पादन गरेर बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
मेडालियनमा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अङ्कित हुनेछ । यस वर्ष २।५ ग्रामका सुनका असर्फी पनि बिक्री गरिनेछ । असर्फी छाप्ने काम केही दिनदेखि जारी रहेको र दैनिक करिब पाँच सय थान उत्पादन भइरहेको बैंकको भनाई छ ।
राष्ट्र बैंकले सर्वसाधारणलाई एक जनाले बढीमा एउटा सुनको असर्फी र तीनवटासम्म चाँदीका मेडालियन खरिद गर्न पाउने व्यवस्था गरेको छ । बिक्रीका लागि उपलब्ध मौज्दात सीमित रहेकाले मागअनुसार सबैलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको बैंंकले जनाएको छ ।
असर्फी तथा मेडालियनको मूल्य बिक्री हुने दिनको सुनचाँदीको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ । सुनका असर्फीको मूल्य तय गर्दा सुनको बजार मूल्यसँगै सिक्का उत्पादन लागतसमेत जोडिनेछ ।















प्रतिक्रिया दिनुहोस्