images images
images images
images
images
images

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : वरिष्ठ उपाध्यक्ष अधिकारी

images

ललितपुर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्डका रूपमा चित्रण गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित ‘क्यान बी–टु–बी समिट २०२५’ लाई सम्बोधन गर्दै उनले बलियो डिजिटल पूर्वाधारबिना नेपालको डिजिटल रूपान्तरण सम्भव नहुने स्पष्ट पारे । प्रविधि अब केवल सहायक साधन नभई अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै उनले सुरक्षित र भरपर्दो डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल विकासका प्रयास दीर्घकालीन रूपमा सफल हुन नसक्ने धारणा राखे ।

images

वरिष्ठ उपाध्यक्ष अधिकारीले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य भइसकेको बताउनुभयो। क्लाउड पूर्वाधारका कारण उद्यमीहरू सर्भर व्यवस्थापन, साइबर सुरक्षा तथा भौतिक पूर्वाधारमा हुने ठूलो पुँजीगत खर्चबाट मुक्त हुने र सीमित स्रोतसाधनमै व्यवसाय विस्तार गर्न सक्ने उनको भनाइ थियो। इ–कमर्स, फिनटेक र सूचना प्रविधि सेवा निर्यातमा नेपाली युवाको बढ्दो आकर्षणलाई व्यवहारमा उतार्न विश्वसनीय क्लाउड पूर्वाधार अनिवार्य रहेको उनले जोड दिए ।

विश्वव्यापी परिप्रेक्ष्य उल्लेख गर्दै उनले सन् २०३० सम्ममा डेटा सेन्टर बजारको आकार ६०२ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । इस्टोनिया, सिंगापुर र भारतजस्ता देशहरूले डिजिटल पूर्वाधारमा समयमै लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अग्रता लिएको उदाहरण दिँदै नेपालले पनि अब स्पष्ट रणनीति र ठोस कदम चाल्न ढिलाइ गर्न नहुने उनको भनाई छ ।

नेपालको डिजिटल क्षेत्र साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै अधिकारीले डेटा संरक्षण, साइबर सुरक्षा तथा डेटा स्थानीयकरणसम्बन्धी स्पष्ट र लगानीमैत्री कानुन आवश्यक रहेको बताए ।

साथै विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको मागअनुसारका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने र डिजिटल रूपान्तरणको लाभ काठमाडौँमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रसम्म विस्तार गर्न दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालको रणनीतिक भौगोलिक अवस्थाको सही उपयोग गर्न सके दक्षिण एसियाकै ‘टेक हब’का रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले सार्वजनिक–निजी साझेदारीमार्फत विदेशी लगानी आकर्षित गर्ने यो उपयुक्त समय भएको बताए ।

समिटको समापनमा वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, प्रदर्शक तथा क्यान महासंघका केन्द्र, प्रदेश र जिल्ला तहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहकार्यबाट मात्रै नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

 

images
images

प्रतिक्रिया दिनुहोस्