पाटन। नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो ।
असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नुभएको लिखित मन्तव्यलाई बैठकले स्वागत र अनुमोदन गरेको छ । साथै सभापति देउवा र उहाँकी धर्मपत्नीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै केन्द्रीय कार्यसम्पादन समितिको २०८२ भदौ २७ र असोज ३ गते बसेको बैठकको निर्णयहरूलाई अनुमोदन गरेको छ । यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले जेनजी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गर्दै सुशासन र पारदर्शितालगायत विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्र्ने, संविधानको मर्म र मूल्यमान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यकका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपश्चात् उदाएका दल, जेनजी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकार भएकाहरूसँग बहुपक्षीय संवाद तथा साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेको छ ।
‘जेनजी’ प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यससम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्ताबेजीकरण गर्ने निर्णयसमेत गरिएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “हाल मुलुक गम्भीर राजनीतिक सङ्कटमा छ, कांग्रेसले संयमता र धैर्यताका साथ एकताबद्ध भई सङ्कटको सामना गर्नुपरेको छ ।
विगतमा आएका कैयौँ राष्ट्रिय सङ्कटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ ।
यस राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै नेपाली कांग्रेस सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न हार्दिक अपिल गर्दछ”, जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पुनः बस्ने जनाइएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको छ ।




कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्