काठमाडौं । नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।
कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ। जसमध्ये २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो। कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको जनाएको छ।
साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ। साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए ।
यस्तै, अध्यक्ष घिमिरेले स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनाको प्रवद्र्धन गरिने बताए । उनका अनुसार योजनाप्रति सर्वसाधारणको आकर्षण भए पनि अपेक्षित रूपमा सहभागिता बढ्न नसकेको भन्दै आगामी दिनमा संघसंस्था तथा स्थानीय निकायसँग समन्वय गरी साक्षरता, अन्तक्र्रिया र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
‘कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्धन गर्दै लैजाने योजना रहेको छ। आजसम्म यस योजनाप्रति सर्वसाधारणको आकर्षण राम्रो देखिए तापनि विविध कारणवश प्रवद्र्धनात्मक कार्यहरू यथेष्ट मात्रामा हुन नसकेको र सहभागीहरूको संख्या अपेक्षित रूपमा वृद्धि हुन सकिरहेको छैन,’ अध्यक्ष घिमिरेले भने । कोषमा सहभागीलाई थप सुविधा दिन दुर्घटना बीमा, कर्जा तथा सापटी, स्वास्थ्य तथा मातृत्व सुरक्षा जस्ता कार्यक्रम विस्तार गरिने अध्यक्ष घिमिरेको भनाइ छ । साथै, कोषका कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसार गरी अझ गतिशील बनाइने उनको भनाइ छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी छ । कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे ।
लगानीतर्फ, कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजना, उत्पादनमूलक क्षेत्र, सहुलियतपूर्ण कर्जा, शेयर धितो कर्जा, सह–वित्तीयकरण, विशिष्टीकृत लगानी कोष, प्राइभेट इक्विटी फण्ड तथा उपयुक्त संस्थाको इक्विटीमा लगानी गर्दै लगानीको दायरा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नीतिगत सुधार गर्दै नागरिक लगानी कोष ऐन संशोधन प्रस्ताव सरकारसमक्ष पेश गरिएको कोषले जनाएको छ ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्