काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।
साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुमाथि छलफल गरी सर्वसम्मतले पारित गरेको बताइएको छ। साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम पुस ३० गतेदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले तीव्र प्रतिष्पर्धी वातावरणमा पनि कम्पनीले भौगोलिक रुपले अति विकट क्षेत्रमा सेवा विस्तार गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा सहयोग गरिरहेको बताइन् ।
अध्यक्ष अर्यालका अनुसार गत आवमा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका प्रतिकूलताकाबीच कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ राजस्वको रुपमा सरकारलाई बुझाएको उल्लेख छ।
कम्पनीले निकट भविष्यमा नै राजधानी लगायत ठूला शहरहरुबाट ५जी सेवा सुचारु गर्ने प्रक्रियामा रहेको अर्यालले सभालाई जानकारी गराइन् । २०८२ असोज मसान्तसम्ममा टेलीकमको ७७ जिल्लाका ७४९ स्थानीय तहमा ४जी सेवा पुगेको छ भने ७७ वटै जिल्लामा उच्च गतिको एफटिटिएच सेवा विस्तार भएको छ। हाल कम्पनीका २जी तर्फ ४,५४२, ३जी तर्फ २,९९४ र ४जी तर्फ ४,४३७ वटा बीटीएस सञ्चालनमा रहेका छन्।
यस्तै, ग्रामीण दूरसञ्चार विकास कोष को सहयोगमा कोशी, मधेश र बागमती प्रदेशका मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने मार्गहरुमा अप्टिकल फाइवर नेटवर्क विस्तार गरी आ।व। २०८१/८२ को अन्त्यसम्ममा कूल ८,८३४ किलोमिटर नेटवर्क विस्तार भएको टेलिकमले जनाएको छ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्