images images
images images
images
images
images

गम्भीर मोडमा मध्यपूर्व, इरानमाथिको आक्रमणबारे विश्वका नेताले के भने ?

images

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर चासो व्यक्त गरिएको छ । विश्व नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै संयमता र कूटनीतिक पहलको आह्वान गरेका छन् ।

images

इरानी सरकारी सञ्चारमाध्यमले ८६ वर्षीय नेताको निधन भएको जनाएको छ, तर कारण खुलाएको छैन । इरानी सञ्चारमाध्यमहरूले मृत्यु पुष्टि गरेको केही बेरपछि इरानको सरकारी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आइआरजिसी)ले पनि वक्तव्य जारी गरी खामेनीको मृत्यु भएको पुष्टि गरेको छ।

खामेनीको मृत्युमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा खामेनीको कम्पाउन्डमा गरिएको आक्रमणपछि उनको मृत्यु भएको आसयको प्रतिक्रिया दिएका थिए । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गरेका थिए ।

खामेनीपछि सर्वोच्च नेता को ?

खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिक रूपमा तोकिएको थिएन । त्यसैले उनको निधनले इरानको राजनीतिक संरचना र नेतृत्व सङ्क्रमणलाई लिएर अन्योल थपिएको छ। विश्लेषकहरूले यसले आन्तरिक शक्ति सङ्घर्ष चर्किन सक्ने र बाह्य द्वन्द्व तीव्र हुन सक्ने सङ्केत गरेका छन् । सन् १९८९ देखि इरानको नेतृत्वमा रहेका खामेनीको मृत्युपछि अब त्यहाँको नेतृत्व कसले सम्हाल्छ भन्ने चासो इरानी नागरिकसँगै मध्यपूर्वका देशहरुमा अधिक बढेको छ।

यसअघि जुन महिनामा अमेरिकाले साथ दिएपछि इसराइलले खामेनीको हत्या गर्ने योजना बनाएको थियो। त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमत नभएपछि खामेनीको हत्या योजनाबाट इसराइल पछि हटेको थियो। तर, आफ्नो हत्या हुनसक्ने आशंकामा खामेनीले त्यतिबेलै आफ्नो उत्तराधिकारीबारे परामर्श गरेको र तीन जनालाई छानेर तीमध्ये एकलाई सर्वोच्च नेता बनाउने तयारी गरेको विवरणहरु बाहिरिएका छन् ।

इरानमा ८८ जना सदस्य रहेको विज्ञहरुको सभा (एसेम्ब्ली अफ एक्स्पर्ट)ले सर्वोच्च नेता छान्ने परम्परा छ। यो परिषद् पूर्ण रूपमा शिया धर्मगुरुहरूबाट गठन हुन्छ। प्रत्येक आठ वर्षमा आमनिर्वाचनमार्फत सभाका सदस्य चुनिन्छन् भने उनीहरूको मनोनयनलाई ‘गार्डियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ । सिएनएनका अनुसार खामेनीले आफ्नो उत्तराधिकारी नतोकेका कारण पनि विज्ञहरूको सभामा रहेका सदस्यहरूले पनि सर्वोच्च नेतामा दाबी गर्न सक्छन् । सर्वोच्च नेताको योग्यतामा राजनीतिक र उच्च तहका शिया धर्मगुरु हुनु अनिवार्य रहन्छ।

सिएनएनका अनुसार सम्भावित दाबेदारमध्ये खामेनेईका दोस्रो छोरा ५६ वर्षीय मोज्तबा खामेनी चर्चामा छन्। उनी आइआरजिसी र बसीज स्वयंसेवी अर्धसैनिक बलसँग नजिक मानिन्छन्। उनी उच्च तहका धर्मगुरु नभएको र औपचारिक सरकारी भूमिका नसम्हालेका कारण मोज्तबाको सर्वोच्च नेता चयन हुने विषयमा चुनौतीका रूपमा हेरिएको छ। अर्का सम्भावित उम्मेदवार ६७ वर्षीय अलिरेजा अराफी रहेको बताइएको छ । अराफी हाल एसेम्ब्ली अफ एक्सपर्टका उपाध्यक्ष तथा शक्तिशाली गार्डियन काउन्सिलका पूर्व सदस्य बनिसकेका व्यक्ति हुन् । इरानको धार्मिक शिक्षण प्रणालीका प्रमुखसमेत रहेका उनलाई राजनीतिक रूपमा प्रभावशाली व्यक्तित्व भने मानिदैन् ।

यस्तै, उमेरमा ६० वर्षको आसपास आकलन गरिएका मोहम्मद मेहदी मिर्बाघेरी कडा धारका धर्मगुरु मानिन्छन्। उनी कोमस्थित इस्लामिक साइन्सेस एकेडेमीका प्रमुख समेत हुन् । सिएनएनका अनुसार मिर्बाघेरीको छबी पश्चिमा देशहरूप्रति कडा दृष्टिकोण राख्ने व्यक्तिका रूपमा रहँदै आएको छ। यसैगरी, इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रूहोल्लाह खामेनीका नाति हसन खोमेनी पनि सम्भावित नाममध्ये एक हुन्। खामेनीईका निकट सल्लाहकार मोहेसन कोमीलाई पनि सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्युपछि इरानमा केही राम्रा उम्मेदवारहरू रहेको धारणा सार्वजनिक गरेका थिए । अमेरिका र इजरायलले शनिबार इरानविरुद्ध ठुलो आक्रमण सुरु गरेका थिए । राष्ट्रपति ट्रम्पले इरानी जनतालाई वर्तमान धार्मिक शासनविरुद्ध उभिन आह्वान गरेका थिए । त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ। क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा प्रतिशोध र प्रतिआक्रमणको चक्र लम्बिने चिन्ता बढेको छ।

इरानमाथि अमेरिका र इसरायलको संयुक्त आक्रमणबारे कसले के भने ? 

युरोपेली शक्तिहरूले प्रत्यक्ष समर्थन वा निन्दा नगरी वार्ताको बाटो रोज्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टर्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानलाई तत्काल वार्तामा फर्किन आग्रह गरेका हुन् । उनीरूले आफ्नो देश आक्रमणमा संलग्न नभएको स्पष्ट पार्दै इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक गतिविधि र क्षेत्रीय अस्थिरताका प्रश्न कूटनीतिक माध्यमबाट मात्र समाधान हुनसक्ने बताएका छन् ।अरब लिगले इरानी आक्रमणलाई शान्ति र स्थिरताका लागि प्रयासरत देशहरूको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भनेको छ। मोरक्को, जोर्डन, सिरिया र संयुक्त अरब इमिरेट्सलगायतका राष्ट्रहरूले क्षेत्रका अमेरिकी सैन्य अड्डामा लक्षित इरानी हमलाको निन्दा गरेका छन् । साउदी अरेबियाले इरानी कदमलाई कडा शब्दमा आलोचना गर्दै क्षेत्रीय स्थिरता जोगाउन संयमता आवश्यक रहेको जनाएको छ । वार्ताको मध्यस्थता गर्दै आएको ओमानले भने अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त उल्लङ्घन गरेको बताएको छ ।

अस्ट्रेलिया र क्यानाडाले अमेरिकी संलग्नतालाई समर्थन जनाएका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई मध्यपूर्वमा अस्थिरता र आतङ्कको प्रमुख स्रोत बताएका छन् । यसको विपरीत रुसले आक्रमणलाई पूर्वयोजनाबद्ध सशस्त्र कारबाही भनेको छ र चीनले तत्काल सैन्य कारबाही रोक्न तथा संवादमा फर्किन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । क्षेत्रीय स्तरमा जनजीवनमा मिश्रित प्रभाव देखिएको छ। कब्जा गरिएको पश्चिम किनारमा इजरायलको आइरन डोमले मिसाइल अवरोध गरिरहँदा आकाशमा विस्फोटको आवाज सुनिए पनि दैनिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छैन । तर इजरायलले चेकपोइन्टहरू बन्द गरेपछि आपूर्ति अवरोधको आशङ्काले पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ। प्यालेस्टिनी प्राधिकरणले अरब राष्ट्रहरूविरुद्ध इरानी आक्रमणको निन्दा गरेको छ, तर अमेरिकी वा इजरायली कारबाहीबारे टिप्पणी गरेको छैन ।

नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले अवस्था ‘नयाँ, व्यापक युद्ध’ तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सले पनि आक्रमणको निन्दा गर्दै यसले आणविक प्रसार र सम्भावित प्रयोगको जोखिम बढाउने चेतावनी दिएको छ। युरोपेली सङ्घ (इयु) र अरब लिगले सबै पक्षलाई संयम अपनाउन र तनाव वा द्वन्द्व न्यूनीकरण गर्ने प्रक्रियातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ। तेहरानबाट सुरु भएको यो द्वन्द्वले अब खाडी क्षेत्र र विश्व शक्तिहरूलाई प्रत्यक्ष रूपमा तान्दै व्यापक क्षेत्रीय सङ्घर्षको सम्भावना बलियो बनाएको छ। कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत हुन आवश्यक देखिन्छ ।

images
images

प्रतिक्रिया दिनुहोस्