images images
images images
images
images
images

चैत ५ गतेदेखि आधारभूत तह उत्तीर्ण परीक्षा सुरु : परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ । चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो । गएको माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन् । यसमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन् । विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी सहभागी हुने परीक्षा समितिका अध्यक्ष एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

images

उनका अनुसार गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष ८२३ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन् ।

परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण हुनेछ । यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको समितिका सदस्य सचिव एवं विद्यालय व्यवस्थापन महाशाखा प्रमुख इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

गएको वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरिएका थिए । दाहालका अनुसार अटिजम भएका तथा लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीहरुका लागि भने होम सेन्टरमै प्रश्न पत्र पठाएर परीक्षा लेख्ने प्रबन्ध गरिनेछ ।

परीक्षा केन्द्र निर्धारण गर्दा आवतजावतमा सहज होस् भन्ने उद्देश्यले भौगोलिक दूरी र उपयुक्ततालाई आधार मानिएको छ । केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको छ ।

जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय कारागार (जेल) भित्र सञ्चालित रहेको र सुरक्षा संवेदनशीलताका कारण विद्यार्थीहरू बाहिर जान सहज नहुने हुँदा, ती विद्यालयहरूको परीक्षा केन्द्र त्यही विद्यालयमा नै कायम गरिएको छ ।

परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ । केन्द्राध्यक्षको नियुक्ति पत्र शिक्षा विभागले दिनेछ ।

कार्यभारका आधारमा प्रधानाध्यापकले केन्द्राध्यक्ष रहने सक्ने अवस्था नरहेमा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको विद्यालयको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरिने बैठकले निर्णय गरेको छ ।

समितिले केन्द्राध्यक्ष खटनपटन, उत्तरपुस्तिका परीक्षणका लागि कोडिङ गर्ने जनशक्ति तथा परीक्षकको तयारीका लागि अभिमुखीकरण आयोजना गर्ने जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्