काठमाडौं । सीजी मोटर्सले जिली होल्डिङ समूह अन्तर्गतको रिद्दारा ब्रान्डको नयाँ रिद्दारा आरडी६ इकोन ४x४ विद्युतीय पिकअप नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस सवारीसाधनको प्रारम्भिक मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
‘शुद्ध विद्युतीय, शुद्ध क्षमता’अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली तथा बहुउपयोगी विद्युतीय पिकअपका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीले यसमार्फत विद्युतीय सवारी क्षेत्रमै प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
रिद्दारा आरडी६ लाई करिब दुई वर्षअघि नाडा अटो प्रदर्शनीमा पहिलो पटक सार्वजनिक गरिएको थियो। त्यसयता यसले नेपालमा विद्युतीय पिकअप खण्डको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको कम्पनीको दाबी छ। ब्रान्डले प्रदर्शन, विश्वसनीयता तथा ग्राहकको स्वीकृतिमा उल्लेखनीय सफलता हासिल गर्दै आफूलाई नेपालकै नम्बर १ विद्युतीय पिकअपका रूपमा स्थापित गरेको पनि बताइएको छ।
नयाँ इकोन ४x४ संस्करणले अझ उच्च अफ-रोड क्षमता, बढी शक्ति उत्पादन तथा नेपालको भौगोलिक आवश्यकताअनुसारको बहुउपयोगी समाधान प्रदान गर्ने कम्पनीको भनाइ छ।
यो सवारीसाधन सहरी सडकदेखि दुर्गम पहाडी तथा कठिन अफ-रोड क्षेत्रमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको छ। व्यवसायिक उपयोगिता र जीवनशैलीसम्बन्धी आवश्यकतालाई संयोजन गर्दै यो मोडेल व्यवसायिक प्रयोगकर्ता र साहसिक यात्राका रुचि राख्नेहरू दुवैका लागि उपयुक्त हुने बताइएको छ।
प्राविधिक रूपमा, यसमा ४८५ न्यूटन मिटर अधिकतम टर्क, दुईवटा मोटरयुक्त चारपाङ्ग्रे चलायमान प्रणाली (४x४) तथा २२५ मिलिमिटर जमिनबाट उचाइ (ग्राउन्ड क्लियरेन्स) रहेको छ। यसले कठिन भू-भागमा समेत सहज सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ। साथै, १२३५ केजी भार वहन क्षमता रहेकोले यसलाई व्यवसायिक प्रयोजनका लागि उपयुक्त बनाइएको छ।
यसमा इको, सामान्य, स्पोर्ट तथा अफ-रोड (हिउँ, हिलो, बालुवा) लगायत विभिन्न ड्राइभिङ मोडहरू उपलब्ध छन्, जसले फरक–फरक सडक तथा मौसम अवस्थाअनुसार सन्तुलित प्रदर्शन प्रदान गर्छ।
सुरक्षातर्फ, सवारीसाधनमा पाँच-तारे ब्याट्री सुरक्षा प्रणाली, पानी तथा धुलो प्रतिरोधी (आईपी६८ स्तरको) ब्याट्री प्याक तथा ६ वटा उन्नत ब्याट्री सुरक्षा संयन्त्र समावेश गरिएको छ। यी प्रविधिहरूले कठिन मौसम तथा भौगोलिक अवस्थामासमेत सुरक्षित र भरपर्दो सञ्चालन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
रिद्दारा आरडी६ इकोन ४x४ देशभर रहेका सीजी मोटर्सका आधिकारिक प्रदर्शनी कक्षहरूमा परीक्षणका लागि उपलब्ध रहेको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्