images images images
images images images
images
images
images

अहिलेको अर्थतन्त्रको मुख्य चुनौति तरलता व्यवस्थापन हो : गभर्नर पौडेल

images

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिलेको अर्थतन्त्रको मुख्य चुनौति भनेकै तरलता (लिक्विडिटी) व्यवस्थापन रहेको बताएका छन् । नेपाल आर्थिक वर्ष समाजको २३ औं वार्षिक साधारण सभामा बोल्दै डा. पौडेलले लिक्विडिटीको तनावले बैंकहरूको नाफामा प्रत्यक्ष असर परेको उनको भनाई छ। आज मात्रै पहिलो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेका पौडेले केही नीति परिवर्तन गरेर अर्थतन्त्रलाई चलायमान बनायने प्रयास गरेको बताएका छन् । यस्तो छ उनले सेजनमा राखेको आफ्नो धारणको सम्पाददित अंशः

अहिले हाम्रो अर्थतन्त्रका विभिन्न क्षेत्रहरू विस्तारिँदै छन् । हाइड्रोपावर, आईटी, पर्यटन, कृषि सबै क्षेत्रका आफ्ना चुनौती र सम्भावना छन्। यी क्षेत्रको विश्लेषण तपाईंहरूलाई पनि महत्त्वपूर्ण छ, र बैंकहरूको एक्सपोजर पनि यिनै क्षेत्रमा फैलिन जरूरी छ। राष्ट्र बैंकको तर्फबाट जे–जे सहयोग गर्न सकिन्छ, त्यो गर्दै जानेछौँ।

images
images

अहिलेको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती भनेको लिक्विडिटी म्यानेजमेन्ट हो। लिक्विडिटी  धेरै हुँदा यसका धेरै साइड इफेक्ट देखिएका छन् बैंकहरूको प्रफिटेबिलिटीमा असर परेको छ, आर्थिक गतिविधि नबढेकाले कर्जाको माग पनि कम भएको देखिन्छ।

म विभिन्न क्षेत्रमा जाँदा सुन्ने कुरा के हो भने फिस्कल साइडबाट परियोजनाहरू अघि बढेनन्, सरकारले आवश्यक ठूला–ठूला खर्चहरू गर्न सकेन। हामीले चाहेको र माग गरेको ‘एक्सप्रेसवे बनाओस्, ट्रान्समिसन लाइन बनाओस्’ भन्ने गति आएन।

मौद्रिक नीति बनाएर लागू गर्दा चाहिएका परिणामहरू पुरै पुगेनन् भन्ने मेरो पनि महसुस छ। उदाहरणका लागि, मिड–लाइन तिर कर्जा प्रवाह बढाउन बनाइएका योजनाहरूले अपेक्षित नयाँ ग्राहक ल्याउन सकेनन्। विदेश जानेका लागि बनाइएका कर्जा योजनामा पनि धेरै नयाँ ग्राहक देखिएनन्। यसले के बताउँछ भने हाम्रा फाइनान्सियल प्रोडक्टहरू नीति र स्थानीय आवश्यकतासँग पूर्ण रूपमा जुध्न सकेका छैनन्।

त्यसैले म बैंकका सीईओहरू, म्यानेजरहरू सबैलाई आग्रह गर्छु स्थानीय व्यवसायीहरूसँग नजिकसँग काम गर्नुस्। स्थानीय आवश्यकता बुझेर मात्र कर्जा उत्पादन डिजाइन गर्नुस्। राष्ट्र बैंकले नीति बनाउँछ, तर त्यो नीति कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा तपाईंहरूले स्थानीय स्तरमा कसरी बुझेर लागू गर्नुभयो भन्नेमा निर्भर गर्छ।

कर्जा प्रवाह सहज होस् भनेर हामीले ओभरड्राफ्टको लिमिट पनि बढाएका छौँ। धेरैलाई यो विषयमा प्रश्न होला, तर अहिलेका व्यवसायी विशेषगरी कृषि, पर्यटन जस्ता क्षेत्रमा रहेका व्यापारी कठिनाइमा छन्। यसले केही सहजता दिने हाम्रो विश्वास हो।

अर्को कुरा बैंकहरूले आफ्नो प्रफिटेबिलिटी सुधार गर्न शाखा व्यवस्थापनमा ध्यान दिनुपर्छ। साना–साना शहरहरूमा १०–१५ वटा शाखा खोल्दा लागत मात्रै बढ्छ, फाइदा हुँदैन। महानगरका भित्र धेरै शाखा राख्नु आवश्यक छैन। दुर्गम क्षेत्रमा सेवा विस्तार हुँदैन, तर एउटै घरमा तीन–चार बैंक भेटिन्छन्। यस्तो व्यवस्थापनले बैंकलाई नै कमजोर बनाउँछ।

गाउँमा जाँदा म सुन्ने एउटा कुरा ‘कुनै–कुनै शाखा म्यानेजर हामीसँग निकै रुखो व्यवहार गर्छन्।’ यसले बैंकप्रति नकारात्मक धारणा बनाउँछ। तपाईंहरूले सबै ग्राहकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। नीति र नियम अनुसार चलाउनुस्, व्यक्तिगत कठोरताले होइन।

ट्रेजरी म्यानेजमेन्टमा तपाईंहरूको प्रदर्शन राम्रै देखिएकोले हामीले एनडीएफ लिमिट पनि बढाएका छौँ। तर भविष्यमा सबै निर्णय डेटा र प्रमाणमा आधारित हुनेछ।

अन्त्यमा, म अर्थतन्त्रप्रति आशावादी छु। हाम्रो बाह्य क्षेत्र मजबुत छ। भित्री क्षेत्रमा केही व्यवस्था मिलाउनुपर्ने छ, केही नीति सुधार आवश्यक छन्, तर ती क्रमशः हुँदै जानेछन्। नयाँ क्षेत्रहरू खुल्दै छन्, नयाँ सम्भावनाहरू जन्मिँदै छन्। हामी सबै मिलेर काम गरे अर्थतन्त्र थप सबल हुन्छ भन्नेमा म विश्वस्त छु। आजको अवसरका लागि धन्यवाद।”

images
images

प्रतिक्रिया दिनुहोस्