काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कर्मचारीहरूलाई मन्त्रीको चाकडी भन्दा पनि जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएकी छन् । मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनका क्रममा उनले नागरिक सर्वोच्चतालाई आत्मसात् गर्दै सेवा प्रवाह गर्न कडा निर्देशन दिएकी हुन् ।
अनुगमनका क्रममा मन्त्री रावलले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिँदै भनिन्, ‘तपाईंहरूले मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवा लिन आउने नागरिकलाई खुसी पार्ने गरी काम गर्नुस्।’ यस्तै उनले नापी र मालपोत कार्यालयमा सर्वसाधारणले भोग्दै आएको सास्ती अन्त्य गरी ती कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाउन कसैको दबाब वा प्रभावमा नपरी प्रचलित कानुनमा टेकेर मात्र काम गर्न कर्मचारीहरूलाई सचेत गराएकी छन् ।
उनले भनिन्, ‘नापी र मालपोतमा पुग्दा जनताले सबै भन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबै भन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस् ।’ सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितताप्रति शून्य सहनशीलता अपनाइने बताउँदै मन्त्री रावलले गुनासो आएमा कानुन बमोजिम कारबाही भोग्न तयार रहन समेत कर्मचारीहरुलाई चेतावनी दिएको उनको निजी सचिवालयले जनाएको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्