images images
images images
images
images
images

दूग्धजन्य वस्तुको निकासीमा सम्भावना छ, सरकारको नीतिगत सुधार गरिदिनुपर्छ : युवा उद्यमी पारस शाक्य (अन्तर्वार्ता)

images

काठमाडाैं । पारस शाक्य एक युवा उद्यमी हुन्। हाल आहाना ग्रुपका अध्यक्ष तथा बीएलसी कन्ग्लोमरेटका निर्देशकको रूपमा कार्यरत छन्। व्यवसाय, आतिथ्य सेवा र विकासका विभिन्न क्षेत्रमा सक्रिय रहेर उनले नवप्रवर्तनशील उद्यमहरूको नेतृत्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
साथै फिजी गणतन्त्रका लागि नेपालस्थित मानार्थ वाणिज्यदूतको सम्मानित कूटनीतिक जिम्मेवारी पनि सम्हालिरहेका शाक्य स्वदेशमै उद्यमीशीलतागरी रोजगार सिर्जना गर्नुपर्ने कुरालाई जोड दिन्छन् । उनले हेटौंडा डेरी उद्योग संचालनमा ल्याएको १५ वर्षभन्दा बढी भइसकेको छ, केही महिनाभित्रै धुनिबेसी नगरपालिका, धार्के, धादिङ्गमा अर्को ठुलो डेरी उद्योग संचालनमा ल्याउने तयारी शाक्यको छ । उनै शाक्यसँग डेरी उद्योग क्षेत्रको अबस्था, भविष्य र नीतिगत कुरा गर्दै छौं । प्रस्तुत छ उनीसँगको प्रस्तुत कुराकानीको सम्पादित अंश

हाल निजी क्षेत्रका दुग्ध उद्योगको अवस्था कस्तो छ?
विगतमा डेरी उद्योगहरु निकै राम्रोसँग चलिरहेको थियो । तर, अहिले देशको आर्थिक मन्दीको प्रभाव अहिले डेरी क्षेत्रमा पनि परेको छ । विगतमा जुन गतिमा खपत हुन्थ्यो अहिले यो क्षेत्र सुस्त छ । विगतको तुलनामा हाल डेरीको अवस्था राम्रो छैन । हामी कठिन अवस्थाबाट गुज्रिराखेका छौं । हाम्रो लगानी जोखिममा रहेको छ ।

images

पछिल्लो समय दुग्ध विकास संस्थानमा नै अर्बौंको दुग्धजन्य पदार्थ बिक्री नभएर थन्काइएको अवस्थामा छ, अझ घाटामा छ । निजी क्षेत्रको उत्पादन र खपत बिचको तादाम्यता सन्तुलित छ?

हाम्रो अहिलेको अवस्थालाई हेर्दा हाम्रो उत्पादन धेरै  छ  तर,  उत्पादन अनुसार खपत कम छ । उत्पादनको तुलनामा खपथ कम हुँदा यसैले अन्य समस्या निम्त्याएको छ । उत्पादन त बढेको छ नै, त्यो अनुसारको दुग्धजन्य पदार्थ प्रयोग गर्ने उपभोक्तामै कमी पनि आएको छ । यसैले पनि उत्पादित वस्तुको बिक्री नभएको हो कि भन्ने लागिराखेको छ । जहाँसम्म दुग्ध संस्थानको कुरा छ, उहाँहरुको आफ्नै बजार छ, हाम्रो बजार छ । मुख्य कुरा गुणस्तर, हो हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।

हामी दुग्धजन्य पदार्थमा आत्मनिर्भर नै छौं भन्ने अवस्थामा पुगेको हो कि आयातमा निर्भरता बढेर नेपाली उत्पादनले बजार नपाएको हो ?

वार्षिक २६ लाख टन कच्चा दूध लगायतका दुग्धजन्य पदार्थ आयात हुँदै आएको तथ्यांक हाम्रासामु छ । पछिल्लो समय कच्चा दूध(प्याकेजिङ) लाई सरकारले रोकेको छ, जुन सकारात्मक हो । तर, नेपाली र बाहिरबाट आउने दुग्धजन्य पदार्थका बस्तुमा अवस्था यही नै हो भनेर एकै हिसाबले विश्लेषण गर्दा वास्तविकता नदेखिन सक्छ । हाम्रोमा उत्पादित बस्तुले प्रतिस्पर्धा गर्न नसक्ने भन्ने होइन । केहीमा राम्रो गरिरहेकै पनि छ। तर, भारतबाट आयात गरिने चिजलाई उहि गुणस्तरमा हामीले यहाँ उत्पादन गर्न थाल्ने हो भने त्यो निकै महंगो पर्न जान्छ । हामीकहाँ ठूलो स्केलमा उत्पादन गर्ने क्षमता तत्कालका लागि छैन ।

उनिहरुकै लेबलमा चिज उत्पादन गरौं भन्ने हो भने हाम्रो खर्च एकदमै धेरै पर्छ । उताबाट आयात गरेको चिज नेपालीलाई गुणस्तर र मूल्यमा पनि सस्तो पर्न जान्छ । त्यस्तै, न्युजिल्याण्डबाट पनि दुग्धजन्य पदार्थ केही उत्पादन आयात हुने गरेको छ, त्यसको छुट्टै आफ्नो उपभोक्ता छन् र महंगो पनि पर्छ । समग्रमा हेर्दा हामीले प्रतिस्पर्धा गर्न नसक्ने होइन, प्रडक्ट र सेक्सन हेरेर फरकफरक प्रतिस्पर्धा बजारमा छ । हामीले कुनै कुनैमा प्रतिस्पर्धा गर्न पनि सक्छौं, कुनैकुनैमा चाँही हामीलाई प्रतिस्पर्धा गर्न गाह्रै छ ।
दूध उत्पादनमा वृद्धि भैरहँदा हाम्रा दूग्धजन्य पदार्थलाई बजारमा प्रतिस्पर्धा गर्न सकस परेको छ, यो क्षेत्रमा मुख्य चुनौति के हुने रहेछ?

अहिलेको मुख्य समस्या भनेकै लागत उठ्न सकेको छैन । किसान देखि लगानीकर्तासम्मलाई हाल उत्पादन धेरै हुँदा खपतमा आएको कमिका कारण समस्या आएको छ । सप्लाई धेरै हुँदा डिमाण्ड नै कम छ, त्यसो हुँदा ‘मिल्क होलिडे’ मा जानुपर्ने बाध्यता छ । हामीले दूध खेर फाल्न त भएन, त्यसबाट बटर निकालेर स्टोर गर्नुको विकल्प हुँदैन । बटर पनि कति स्टोर मात्र गरेर राख्ने ? अन्य उत्पादन पनि बिक्री नै भएको छैन ।

अहिलेको ज्वलन्त समस्या भनेको हरेक कुराको स्टक धेरै भयो बिक्री नै गर्न सकिएको छैन् । डिडिसीले पनि यही समस्या भोगिराखेको छ । अर्बौं रुपैयाँको सामान स्टकमा अड्केर बसेको छ, बजारमा बिक्री गर्न सकेकै छैन, कसरी ती सामान क्यिर गर्ने रु यो समस्याको निकास खोज्नु मुख्य चुनौती भएको छ।

एकातिर दूग्ध विकास संस्थान र निजी क्षेत्रबाट खुलेका डेरीमा अर्बौं रुपैयाँ पर्ने उच्च स्टक बाँकी छ, अहले नै उत्पादित बस्तु बेच्न सकेनौं भनेर हारगुहार गर्नुपर्ने अवस्था बनेको छ । अर्कोतिर उत्पादन गरेको दूध नै खपत नहुने होकि भन्ने चिन्ता किसानलाई छ ।

चिस्यानकेन्द्र निर्माणमा राम्रो लगानी नहुँदा समस्या आएको होकि कारण अरु छन्?

चिस्यान केन्द्रहरु नभएका होइन् देशभर फरकफरक स्थानमा छन् । केन्द्र निर्माण गर्नै पनि लगानी त रिजल्ट हेरेर गर्छन्, तर प्रभावकारी पनि हुन पर्यो नि समस्या केन्द्र नभएर आएको होइन, पुनः उहि भएकै मालबस्तु बिक्री गर्न नसक्नु चाँही मुख्य कुरो हो ।

विगत देखि नै डेरी किसानले विभिन्न समस्या खेप्दै आएका छन् । कहिले गाइबस्तुमा रोग फैलिने त कहिले दूधको भूक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने, उनिहरुको लागि दिर्घकालीन समाधान के होला ?
यहाँ एकै मात्र विषयले समस्या भएको छैन । पहिलो त किसानहरुलाई दिनुपर्ने शिक्षा र चेतनाको कुरा आउँछ । त्यसपछि व्यवसायिक रुपमा गाइवस्तु पालन गर्दा राम्रो जातको नश्लको कुरा जोडिन्छ । जनावरलाई कसरी पाल्ने, के खुवाउने देखि उनिहरुको हेरचाहसम्मका कुरामा पर्याप्त तालिम दिनुपर्छ ।

त्यसपछि सरकारले दिने सहुलियत कर्जाको कडा कार्यान्वयन, अनुदान,कर छुट लगायतका विविध विषय जोडिसकेपछि किसानको उत्पादन लागत कम भयो भने मात्र त्यहाँबाट बजारमा पुग्ने बस्तुको मूल्य कम हुने हो, क्वालिटीमा पनि सुधार हुन्छ । त्यति हुन सक्यो भने, चेन अफ रियाक्सन जुन हुन्छ, विस्तारै त्यहाँबाट डेरी क्षेत्रलाई राम्रो अवस्थामा लैजान सकिन्छ भन्ने लाग्छ ।

हामी दूग्धजन्य पदार्थको स्टक धेरै छ, बिग्रिन लागे बस्तु भनेर बसिरहने मात्र होकि निर्यातमा वृद्धि गर्न लाग्नुपर्ने हो बस्तु निर्यातमा कहाँ के समस्या छन् ?

निर्यात नै नभएको होइन, बटर, छुर्पी लगायतका बस्तुको भैरहेको छ । निर्यातका लागि जति सरकारले पहल गरेको छ, त्यो पुगेन, अब अझै बलियो रुपमा सरकारले पहल गर्ने हो भने सम्भावना राम्रो छ । बाहिर निर्यात गर्ने बस्तुमा लेबल र क्वालिटीलाई लिएर बाधा भैरहेको छ । भारत चाइना लगायतका देशहरुमा क्वालिटी र क्वारेन्टाइनलाई लिएर विशेष शर्तक छन्, गाइवस्तुमा कुन सुई लगाउने, के खुवाएको छ, रोग लागेको छकि छैन देखि धेरै कुराहरु अनिवार्य चेक हुन्छ । हामीले त्यसलाई मेन्टेन गरेर, उनिहरुको मापदण्ड अनुसार बस्तु नबनाएसम्म निर्यातको समस्या टर्दैन ।

सरकारले यी कुराहरुलाई अनिवार्य गरेर किसानहरुलाई प्रोत्साहन सँगै सहुलियत दिएर विस्तारै अघि बढ्न सक्यो भने निर्यातको सम्भावना राम्रो छ । जस्तो स् गाईवस्तुमा लाग्ने खोरेत रोगको लागि सरकारले सबैमा भ्याक्सिन लगाएर अफिसियल तथ्यांक नदिएसम्म युरोप, अमेरिका, छिमेकी राष्ट्रले हाम्रा दूग्धजन्य बस्तुका लागि बजार दिँदैनन् । हरेक देशको आ–आफ्नै मापदण्ड हुन्छन्, तिनलाई मनन गर्दै हामीले यस्ता कुरालाई ध्यान दिएर अघि बढ्न सक्यौं भने निर्यातमा वृद्धि हुन्छ ।

तपाईंको आफ्नै पनि डेरीहरु सञ्चालनमा छन्, भविष्यमा दूग्धजन्य पदार्थको उत्पादन बढाउने, बजार विस्तार गर्ने सन्दर्भमा रणनीतिहरु केही छन् ? आइपिओ निष्काशन गर्नेबारे सोच्नुभएको छ ?

हामीले मुख्य गरी हेटौँडा डेरीलाई पूर्ण उद्योगको रुपमा यही वर्षबाट सञ्चालनमा ल्याउँदै छौं । विगतमा दूध बढी हुँदा हामीले नेपालमै पहिलो पटक ‘कन्डेन्स मिल्क’ (बट्टाको दूध) बनाएर सप्लाई गर्दै आएका थियौं । पहिले आर्मीलाई सप्लाई गथ्र्यौं हाल आम नागरिकका लागि पनि त्यसलाई बजारमा लगिएको छ । यो वर्षदेखी हामीले आफ्नौ पाउडर प्लान्ट सञ्चालनमा ल्याउँदै छौ, पाउडर मिल्क, डेरी सम्बन्धित सबै उत्पादन हामी आफैं सुरु गर्दै छौं । डेटौँडा डेरी यो वर्षबाट पूर्ण डेरी उद्योगको रुपमा सञ्चालनमा आउँछ ।

पाउडर प्लान्टकै लागि हामीले १७ करोड हाराहारीमा लगानी गरेका छौं । यसैगरी, धादिङमा हामीले नयाँ फ्याक्ट्री स्थापना गर्न लागेका छौं त्यहाँ पनि १७ करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ । शाखा विस्तार गर्ने भन्दा पनि नयाँ फ्याक्ट्री नै खोल्ने रणनीतिमा अघि बढेका छौं, अर्को वर्ष नेपालगञ्ज एरियामा पनि बनाउने सोचिराखेका छौं ।

अब विस्तारै चिज उत्पादनमा पनि हामी लाग्ने छौं र डेरी उत्पादनलाई पूर्ण रुपमा विस्तार गर्दै लैजान्छौं । हेटौँडा डेरीलाई नेपालको सबैभन्दा राम्रो डेरी उद्योगको रुपमा चिनाउन हामीले आफ्ना उत्पादनको क्वालिटी र मूल्यमा कुनै सम्झौता नगरी आम नागरिकसम्म पुर्याने लक्ष्य लिएर शसत्त रुपमा लागको छौं । काठमाडौं उपत्यजस्तै, उपत्यका बााहिरका अन्य मुख्य सहरका बजारमा पनि उस्तै उपस्थिति जनाउँछौं । नेपालको डेरी क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन उत्पादन स्टक रहने जुन विकराल समस्या देखिएको छ, यसको जतिसक्दो चाँडो अन्त्य हुनु जरुरी छ ।

images
images

प्रतिक्रिया दिनुहोस्