विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२ \८३ का लागि ४ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार आयोजित १६औँ नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै यसपटक पूर्वाधार विकास र वडा स्तरीय योजनालाई उच्च प्राथमिकता दिइएको बताइन्।
उनले बजेट राजनीतिक दल, व्यवसायी, उद्योगी र नागरिक समाजसँगको परामर्शमा तयार पारिएको जानकारी दिँदै, समृद्ध महानगर निर्माणमा यो बजेट प्रभावकारी हुने दाबी गरिन्। बजेटमा शैक्षिक, स्वास्थ्य, पूर्वाधार, सामाजिक तथा आर्थिक विकासलगायतका क्षेत्रमा सन्तुलित विनियोजन गरिएको छ।
महानगरले राजस्वका विभिन्न श्रोतबाट रकम जुटाउने लक्ष्य लिएको छ। वित्तीय समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १९ करोड २० लाख ३ हजार, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट सशर्त तथा समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघसंस्थाबाट १६ लाख र चालु आर्थिक वर्षको मौज्दातबाट १४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
खर्चतर्फ १९ वटै वडा कार्यालयमा चालु तथा पुँजीगत खर्चका लागि ४३ करोड ५६ लाख ३२ हजार र महानगरपालिका कार्यालयका लागि २ अर्ब ६९ करोड २६ लाख १ हजार रुपैयाँ छुट्याइएको छ। संघ तथा प्रदेश सरकारबाट हस्तान्तरित सशर्त तथा समपूरक योजनाको कार्यान्वयनका लागि ८७ करोड ५७ लाख ६७ हजार विनियोजन गरिएको छ।
प्रशासनिक तथा नियमित खर्चमा पनि महत्वपूर्ण बजेट छुट्याइएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ५ करोड, चालु वर्षमा भुक्तानी हुन बाँकी रहेका योजनाका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ।
भौतिक पूर्वाधार विकासतर्फ यसपटक सबभन्दा ठूलो रकम छुट्याइएको छ। सडक बोर्डबाट सञ्चालन हुने योजनाका लागि १ करोड ५० लाख र नगरस्तरीय योजनामा ६४ करोड ६१ लाख १ हजार रुपैयाँसहित पूर्वाधार क्षेत्रमा मात्र १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको हो।
त्यस्तै, नगरका सडक मर्मतका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरणमा २ करोड, सडक पूर्वाधार तथा बस्ती विकासमा १० करोड २७ लाख १२ हजार छुट्याइएको छ।
शैक्षिक विकासका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य क्षेत्रमा १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, संघसंस्थाका लागि ५ करोड ५ लाख, आर्थिक विकासका कार्यक्रमतर्फ २ करोड ९६ लाख २५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड १० लाख र सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ।
महानगरले प्रस्तुत गरेको बजेटले समावेशी विकास, पूर्वाधार सुदृढीकरण र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ। उपप्रमुख कार्कीले नगरवासी, कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाहरूको सहकार्यमा बजेट कार्यान्वयनमा सफल हुने विश्वास व्यक्त गरिन्।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्