धेरै मानिसहरुको दाँत दुख्दा झट्ट सम्झने हस्पिटलमा पर्दछ – हिमाल डेन्टल हस्पिटल एवं विभान्ता डेन्टल। यो हस्पिटलको आफ्नै इतिहास छ। सेवा सुचारु गरेको २२ वर्षमा हिमाल डेन्टल हस्पिटलले दन्त क्षेत्रमा धेरै कुरा देखेको छ। सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन सँगै दन्त सेवाको आधुनिक प्रयोगको ग्राफ अझ उच्च ढंङ्गले बढेको छ। यो २२ वर्षको अन्तरालमा हिमाल डेन्टल हस्पिटल र विभान्ता डेन्टल हस्पिटलले के-कस्तो सेवा दिइरहेका छन् त? सर्वसुलभ सेवा कसरी पाउन सक्छौं? यी र यस्तै विषयमा केन्द्रित रहेर हिमाल डेन्टल हस्पिटल एवं विभान्ता डेन्टल प्रा.लि. साथै हिमाल ग्रुपका महाप्रबन्धक किशोर भट्ट सँग कर्पोरेट समाचारका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सम्पादित अंश:
हिमाल ग्रुप अन्तर्गत हिमाल डेन्टल हस्पिटल र विभान्ता डेन्टलले कस्ता सेवा दिइरहेका छन् ?
हाम्रो हिमाल ग्रुप मुख्य रूपमा डेन्टल सेवामा केन्द्रित छ। विशेष गरेर हिमाल डेन्टल हस्पिटल नै हाम्रो मुख्य संस्था हो। त्यस बाहेक साना–ठूला अरू केही व्यवसायहरू पनि छन्, तर हाम्रो ध्यान र समय मुख्यतः डेन्टल सेवामै केन्द्रित छ। हामीले सन् २००३ देखि औपचारिक रूपमा नेपालमा सेवा दिन शुरु गरेका हौं। अहिले करिब २२ वर्ष भन्दा बढी भयो, हामी डेन्टल क्षेत्रमा निरन्तर सेवा दिइरहेका छौँ। यी वर्षहरूमा धेरै अनुभव र विश्वास प्राप्त गरेका छौँ, जसले हामीलाई अझ राम्रो सेवा दिन प्रेरित गरेको छ।
विगतको तुलनामा अहिले मानिसहरूमा दाँतको स्वास्थ्य बारे कति जानकारी र सचेतना आएको छ?
शुरुका दिनमा मानिसहरूलाई दाँतको स्वास्थ्य बारे खासै जानकारी थिएन। दाँत दुख्यो भने पनि त्यति गम्भीर मान्दैनथे ‘दाँत त हो नि’ भनेर बेवास्ता गर्थे। तर, अहिले स्थिति धेरै बदलिएको छ। मानिसहरूले दाँतको महत्व बुझ्न थालेका छन् र नियमित जाँच गराउने बानी पनि बस्दै गएकाे छ।
शुरुका बर्षमा हामीले एउटा बिरामी आए पनि खुशी मान्थ्यौं, कहिलेकाहीँ हप्तामा एक–दुई जना मात्रै आउँथे। अहिले त बिरामीको चाप यति धेरै छ कि कहिलेकाहीँ भ्याइ-नभ्याइ हुन्छ। सानो स्तरबाट शुरु गरेका हौँ, तर २२ वर्षको निरन्तर मेहनतपछि आज हिमाल डेन्टल राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै परिचित नाम बनेको छ। यसले के संकेत गर्छ भने दाँत प्रतिको आम मानिसको धारणा बदलिएको छ।
तपाईंहरूले सेवा शुरु गर्नु भएको कति भयो? विगतलाई फर्केर हेर्दा हिजो र आजबीचको अवस्था कस्तो पाउनु हुन्छ?
हामीले डेन्टल सेवा शुरू गरेकाे २२ वर्ष भन्दा बढी भइसकेको छ। यो सफलता हाम्रो सम्पूर्ण टिमकाे मेहनत र निरन्तर प्रयासको फल हो। आज हिमाल डेन्टल हस्पिटल नेपालमा मात्र होइन, विदेशमा पनि परिचित नाम बनेको छ। अहिले हाम्रो देशभर करिब १५–१६ वटा शाखाहरू छन्।
हामीले दिने सेवा मुख र दाँतसँग सम्बन्धित सबै प्रकारका उपचार हुन्। साधारण दाँतमा किरा लागेको (क्याविटी) उपचारदेखि लिएर ईम्प्लान्ट (दन्त प्रत्यारोपण), अर्थाे (ब्रेसेस लगाउने/ बाङ्गोटिङ्गो दाँत मिलाउने), क्राउन (दाँतमा खोल हाल्ने), पेरियाे (गिजा सम्बन्धि उपचार), आर.सी.टी (दाँतको जरादेखी उपचार), र अहिले त कस्मेटिक डेन्टिस्ट्री (दाँतको डिजाईन र सुन्दरता सुधार्ने) आदि सम्मका सेवा उपलब्ध छन्।
हामीसँग आफ्नै मिलिङ्ग मेसिन, लेजर, सिभिसिटी (3D) एक्स–रे लगायत सबै आधुनिक उपकरण छन। जसले अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सहज बनाएको छ। अनुभवी र दक्ष चिकित्सकहरूको टोली हाम्रो बल हो।
सबैभन्दा खुशीको कुरा के भने, सेवाग्राहीहरूले हाम्रो कामलाई मन पराएका छन्। आखिर दाँत सबैको महत्त्वपूर्ण अंग हो। ३२ वटा दाँतमध्ये कुनै एकमा पनि समस्या आए उपचार चाहिन्छ। विदेशमा डेन्टल उपचार निकै महँगो हुन्छ, तर नेपालमै हामीले त्यही स्तरको सेवा सहज दरमा उपलब्ध गराई रहेका छौँ।
दाँतको उपचार अन्य स्वास्थ्य सेवाभन्दा महँगो हुन्छ भन्ने भनाइ सुन्छौं, किन दन्त स्वास्थ्य सेवा महँगो भएको हो?
विदेशमा डेन्टल उपचार नेपालमा भन्दा करिब दश गुणा महँगो हुन्छ। मानौं: यहाँ नेपालमा हामीले एउटा उपचार एक लाख रुपैयाँमा गर्छौं, त्यही काम विदेशमा लगभग दश लाख रुपैयाँ पर्नजान्छ। यही कारणले धेरै नेपाली दाजुभाइ–दिदीबहिनीहरू जो विदेशमा बस्नुहुन्छ, उपचारका लागि नेपाल फर्कनुहुन्छ।
अहिले त विदेशीहरू पनि नेपाल घुम्न र दाँतको उपचार गर्न आउने क्रम बढेको छ। उनीहरू भन्छन, यदि ‘विदेशमै उपचार गर्यो भने १० लाख रुपैयाँ खर्च हुन्छ, तर नेपालमा आएर त्यही रकममा उपचार पनि हुन्छ र नेपाल पनि घुम्न पाइन्छ।’ यसैले डेन्टल ‘टुरिजम’ को एउटा नयाँ ट्रेन्ड नेपालमा बढ्दै गएको छ। यसलाई अझ हामीले प्रचारप्रसार गरि नयाँ अवधारणा बनाएर जाने हो भने यो एउटा पर्यटक ल्याउने सम्भावनाको ढोका पनि खुल्छ र नेपालको अर्थतन्त्रमा पनि यसले ठूलाे टेवा पुर्याउने छ।
हाम्रो हिमाल डेन्टल हस्पिटल र विभान्ता डेन्टलमा पनि धेरै विदेशीहरू उपचारका लागि आउँछन्। उनीहरूले यहाँको सेवा, गुणस्तर र लागतप्रति सन्तुष्टि व्यक्त गरेर फर्कन्छन्।
डेन्टल उपचार महँगो हुनुको अर्को कारण के हो भने यो क्षेत्रमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरणहरू चाहिन्छ। हरेक व्यक्तिका ३२ वटा दाँत हुन्छन र लगभग सबैलाई कुनै न कुनै समयमा समस्या आउँछ। चाहे त्यो ट्रमा होस, ईम्प्लान्ट होस, ब्रेसेस लगाउने कुरा होस् वा गिजाको समस्या होस्। यी सबै उपचारमा प्रविधि, दक्षता र समय लाग्ने भएकाले यसको लागत पनि स्वाभाविक रूपमा केही बढी हुन्छ।
नेपालमा दन्त स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अवस्था कस्तो छ? हामीले स्थानीय तह र दुर्गम गाउँबस्तीमा सेवा कसरी विस्तार गर्न सक्छौं?
अहिले नेपालमा दन्त स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमि छ। हामीलाई अझै धेरै प्रशिक्षित जनशक्ति आवश्यक छ। यही आवश्यकता पूरा गर्नका लागि हाम्रो हिमाल डेन्टल हस्पिटल अन्तर्गत “सीडीएस” (Certificate in Dental Science) नामक ३ बर्षको कोर्स पढाई रहेका छौं। यसबाट विद्यार्थीहरू डेन्टल हाईजिनिस्ट बन्ने गर्छन्, जसले डाक्टरसँग मिलेर काम गर्न सक्छन् र गाउँघरमा गएर आफ्नै क्लिनिक पनि खोल्न सक्छन्। तर, क्लिनिक खोल्दा एक जना BDS वा MDS डाक्टर अनिवार्य रूपमा राख्नुपर्छ। यसले गाउँस्तरमा रोजगार सिर्जना पनि गर्छ र ग्रामीण क्षेत्रमा दन्त सेवा पुर्याउन सहज बनाउँछ।
साथै, हाम्रो सामाजिक दायित्व अन्तर्गत हामीले ७७ वटै जिल्लामा निःशुल्क डेन्टल क्याम्प सञ्चालन गरिरहेका छौँ। हाम्रो क्याम्पकाे टोलीमा १०–१२ जना डाक्टर र असिस्टेन्टहरू हुन्छन्, जसले गाउँघरमै पुगेर उपचार गर्छन्। जहाँ तत्काल उपचार सम्भव हुँदैन, त्यहाँका बिरामीलाई अस्पतालमा विशेष छुट सहित उपचारका लागि बोलाइन्छ। हामी बुझ्छौं गाउँका धेरै मानिसहरु सँग आर्थिक समस्या हुन्छ, त्यसैले धेरैजसो उपचार सस्तो दरमा वा कहिलेकाहीँ निःशुल्क रूपमा पनि गरिन्छ।
अहिलेकाे विश्व डिजिटल युगमा छ। बिरामीहरूले अनलाईन, फेसबुक पेज, वेबसाईट वा ईमेल मार्फत पनि अपोईन्टमेन्ट लिन सक्छन्। विदेशमा रहेका नेपालीहरूले नेपाल फर्किँदा र पर्यटकहरूले पनि यसै माध्यमबाट समय मिलाएर उपचार गर्न आउँछन्।
हामी चाहन्छौं सरकार र निजी क्षेत्रबीच अझ राम्रो सहकार्य होस्। सरकारको सहयोग पायौं भने हामी देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि त्यहाँको प्रोसिजर र प्राेटोकल अनुसार त्यही क्लिनिक खोलि सस्तो र गुणस्तरीय डेन्टल सेवा दिन सक्छौं। अहिले हाम्रो १५–१६ वटा शाखाहरू सञ्चालनमा छन् र हाम्रो योजना दुर्गम गाउँहरूमा पनि साना-साना क्लिनिकहरु खोल्ने रहेको छ।
त्यहाँ दुई–चारवटा चेयर राखेर न्यून शुल्कमा सेवा दिन सकिन्छ। जहाँ बिरामीहरूले १०-२०-५० रुपैयाँको टिकट काटेर उपचार गर्न पाउँछन् र गाउँलेहरूकाे सल्लाह अनुसार नै डाक्टर, असिस्टेन्टकाे आवश्यक न्यूनतम् पारिश्रमिक मात्र आउनेगरि (नाफा नलिई) सेवा दिन सकिन्छ।
हाम्रो उद्देश्य अब व्यापारभन्दा बढी सेवामुखी हो। हामी विश्वास गर्छौं: जीवनमा पैसा मात्र सबै कुरा होइन। हाम्रो सीप र ज्ञान समाजको सेवामा प्रयोग गर्न पाउनु नै साँचो सन्तुष्टि हो। त्यसैले अब हाम्रो ध्यान ‘कमाई भन्दा सेवा’ तर्फ केन्द्रित छ। जसले देशभित्र स्वास्थ्य सेवा सहज बनाउनेछ र विदेशमा पनि नेपालको प्रतिष्ठा बढाउने छ।
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रले कसरी सहकार्य गर्न सक्छन्? कसरी यसलाई सबैका लागि सरल र पहुँचयोग्य बनाउन सकिन्छ?
स्वास्थ्य बीमा सबैका लागि सहज र पहुँचयोग्य हुन अत्यावश्यक छ। अहिले पनि धेरै मानिसहरू आर्थिक अभावका कारण उपचारबाट वञ्चित छन्। हाम्रो अनुभवमा धेरै बिरामीहरू दाँत दुखेर रोइरहेका हुन्छन्, तर पैसा नहुँदा उपचार गर्न सक्दैनन्। त्यस्ता बिरामीहरूलाई हामीले सकेसम्म डिस्काउन्ट दिने र कहिलेकाहीँ पूर्ण रूपमा निःशुल्क उपचार गर्ने गर्छौं। तर, यस्तो काम व्यक्तिगत वा संस्थागत रूपमा मात्र सम्भव हुँदैन। सरकारले आर्थिक रूपमा कमजोर मानिसहरूलाई पहिचान गरेर उनीहरूको स्वास्थ्य बीमा आफैंले गरिदिनु जरुरी छ। यदि सरकारले यस्तो योजना ल्यायो भने जसअन्तर्गत ति मानिसहरूले अस्पताल गएर बीमा कार्ड देखाउँदा उपचार पाउँछन् र साे वापतकाे खर्च सरकारले बेहोर्छ भने कसैलाई पनि उपचार नपाउने अवस्था रहँदैन।
“अ” सिडीएसको बारेमा केही थपेः सिडीएस गरिसकेपछि आफ्नो क्लिनिक खोल्न पाउनुका साथै प्राइभेट जब, लोकसेवा लड्न पाउनु र विदेशमा काम गर्यो भने आकर्षक आयआर्जन यसका थप फाईदाहरू हुन।
मेजर सर्जरीहरु पनि हुन्छ?
हजुर हुन्छ, उदाहरणका लागि:- जापानमा बस्ने एक नेपाली बिरामीलाई गम्भीर म्याक्सिलो-फेसियल सर्जरी (मुख र जबडा सम्बन्धी शल्यक्रिया) आवश्यक थियो। त्यहाँ उपचार अत्यन्त महँगो थियो, त्यसैले उनले हाम्रो हिमाल डेन्टल हस्पिटल खोजेर नेपाल आए। हामीले नौ घण्टा लामो अपरेसन गरेर उनको अनुहार सामान्य अवस्थामा ल्यायौं। उहाँ अत्यन्तै खुशी हुनुभयो, हाम्रो सेवा उत्कृष्ट र दर पनि सस्ताे भएको भन्दै धन्यवाद दिनुभयो।
यस्तो सफलताले देखाउँछ — नेपालमै पनि विश्वस्तरको उपचार सस्तो दरमा सम्भव छ। हामीलाई मुख तथा दन्त उपचार सेवा क्षेत्रमा काम गर्न थालेको धेरै लामाे समय भयो र हामी सँग उपलब्ध उपकरण, अनुभव र दक्षजनशक्तिले अन्तर्राष्ट्रिय स्तरको सेवा दिईरहेका छौं।
यस्तै, सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखी निजी अस्पताल र डेन्टल संस्थाहरू सँग सहकार्य गरेमा उपचार प्रणाली अझ प्रभावकारी बन्न सक्छ। सरकार र निजी क्षेत्रबीचको सहकार्यले ग्रामीण र सिमान्तकृत समुदायसम्म सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिन्छ।
हामीले २२ वर्षदेखि आफ्नै बलबुतामा काम गरिरहेका छौं, तर सरकारसँग सहकार्य गरेर अझै ठूलो स्तरमा योगदान गर्न चाहन्छौं। सरकारले निजी क्षेत्रका अनुभव र सुझाव सुनेर नीति बनायो भने बीमा प्रणाली मात्रै होइन, पूरै स्वास्थ्य क्षेत्र नै सबल र पहुँचयोग्य बन्नेछ।
अन्त्यमा के भन्न चाहानु हुन्छ? केही सन्देश?
हजुर, हामी सबैले कम्तिमा पनि ६-६ महिनामा आफ्नो मुख तथा दन्त सम्बन्धि रेगुलर चेकअप नजिकको डेन्टलमा गएर गराउनु हाेस्। शरिरकाे अरु अंगहरू जस्तै दाँतलाई पनि विशेष महत्व दिउ, तपाईँको एउटा दाँत हिराभन्दा पनि किमती छ।
हाम्रो संस्थाकाे स्लोगन नै छ:- ‘‘स्वास्थ दाँत स्वास्थ जीवनका लागि।’’
अनि सरकारसँग यति अनुरोध छ; विकासका कुराहरु क्रमशः प्राथमिकताको आधारमा हुँदै जान्छन तर शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकारको पहिलो ध्यान जाओस्। सरकारसँग हातेमालो गरेर मुख तथा दन्त उपचार सेवामा अघि बढ्न हामी हमेशा तत्पर छौं।
असल सरकार भएका अन्य देशहरुमा शिक्षा र स्वास्थ्य सरकारका लागि पहिलो प्राथमिकता रहेको हामी सबैलाई सर्व विदितै छ। धन्यवाद!







भाेजराज भण्डारी 




















प्रतिक्रिया दिनुहोस्